६ भदौ,गुल्मी – प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको खोजीमा बुटवलबाट सुरु भएको हाम्रो यात्राले गुल्मीको चिउरीका सिद्धबाबा धाम तर्फ डोर्यायो। सिद्धार्थ राजमार्ग हुँदै पाल्पाको सिद्धबाबा सडकको मनमोहक दृश्यसँगै अघि बढ्दै, हामी पाल्पा तानसेनको ऐतिहासिक सहरमा प्रवेश गर्यौं। गर्मीको समयमा बतासे डाँडाको चिसो हावा र त्यहाँबाट देखिने मनोरम दृश्यहरूले हाम्रो मनलाई प्रफुल्ल बनायो। केही क्षणको विश्रामपछि हाम्रो यात्रा गुल्मीको पवित्र तीर्थस्थल रिडी तर्फ मोडियो।
रिडी पुग्दा हामीले कालीगण्डकीको किनारमा रहेको शालग्राम भगवानको दर्शन गर्ने अवसर पायौं। विश्वमा केवल कालीगण्डकी नदीको कोखमा मात्र शालग्राम पाइने भएकाले यसको धार्मिक महत्त्व अद्वितीय छ।दामोदर कुण्ड संगै मुक्तिनाथ हुंदै बग्दै आउने यस नदीको पवित्रताले हरेक भक्तजनको मनलाई स्पर्श गर्दछ। रिडीको रमणीय वातावरणको अवलोकन पछि हामी कालीगण्डकी करिडोर हुँदै रुद्रावति र कृष्ण गण्डकीको संगम स्थलमा पवित्र प्राचिन रामआश्रमको अवलोकनपछि रुद्रवेणी, शाहघाट, खैरेनी, उर्लीखोला, डहरेखोला, परमानन्द नगर हुँदै चन्द्रकोट गाउँपालिकामा प्रवेश गर्यौं।
लुकेको शक्तिपीठ: खड्गदेवी र कालिका मन्दिर

चन्द्रकोट गाउँपालिका वडा नम्बर ७, रुपाकोटमा रहेको खड्गदेवी मन्दिर र कालिका मन्दिर परिसर पुग्दा एक अद्भूत शान्ति र दैवी ऊर्जाको अनुभूति भयो। घना जंगल र विकट भू-भागमा रहेको यो स्थानको यात्रा साँच्चै नै चुनौतीपूर्ण थियो। ठाडो उकालो र सुनसान बाटोमा हिँड्दा डर र थकान दुवै महसुस भयो। उकालो बाटो चढने क्रममा यात्राको मध्यम स्थानमा पुग्यौं त्यहां पवित्र शिव पादुका रहेछन,त्यस पवित्र स्थानको दर्शन सकेर पछाडि फर्केर हेर्दा देखिने विशाल छाँगा र मनोरम दृश्यहरूले सबै थकानलाई भुलाइदियो।



स्थानीय गुरु लक्ष्मण थापाको पहलमा हालै यस स्थानमा पक्की सिँढीहरू निर्माण गरिएकोले यात्रा केही सहज र सुरक्षित बनेको छ। आधा घण्टाको पैदल यात्रापछि हामी चिउरीको लेकको टापुमा पुग्यौं, जहाँ चराचुरुङ्गी र वन्यजन्तुको आवाजबाहेक अरू कुनै कोलाहल थिएन। यहाँ पुग्दा मनमा जतिसुकै पीडा भए पनि त्यो शान्त र अवर्णनीय आनन्दमा परिणत भयो।





आस्था र चमत्कारको भूमि
स्थानीय विश्वासअनुसार, यो स्थान त्यही हो जहाँ भगवान् शंकरले ध्यान गर्नुभएको थियो। यस गुफामा पुगेर श्रद्धापूर्वक ध्यान र पूजा गर्दा सन्तान (विशेषगरी पुत्र) प्राप्त हुने जनविश्वास रहेको छ। यस स्थानको सेवा र संरक्षणमा रहनुभएका स्वामी हरि गुरुका अनुसार, मन्त्र साधना र सिद्धता प्राप्त गर्न ठूला-ठूला तपस्वी र महात्माहरू यहाँ महिनौं ध्यानमा बस्ने गर्छन्। सृष्टिको उत्पत्तिसँगै यस स्थानमा दैवी शक्ति रहेको र २०७० सालदेखि व्यवस्थित रूपमा यसको संरक्षण र विकास गर्न व्यवस्थापन समिति गठन भएको उहाँले बताउनुभयो। हाल नेत्रबहादुर थापा अध्यक्ष र लेखबहादुर खत्री सचिव रहेको समितिले यसको संरक्षण गरिरहेको छ।
चिउरीका सिद्धबाबा धाममा नेपालका विभिन्न जिल्ला र जापान, युरोप लगायतका देशबाट समेत वार्षिक करिब ५ हजार भक्तजनहरू आउने गरेको पूजारी स्वामी हरिदेवजीले जानकारी दिनुभयो।



प्रचारप्रसारको अभाव र सम्भावना
यति महत्त्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्य प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। यसलाई आन्तरिक तथा बाह्य धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जानुपर्ने आवश्यकता छ। यस्ता क्षेत्रहरूको विकासले धार्मिक पर्यटनको प्रवर्द्धन मात्र नभई स्थानीय सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा समेत योगदान पुर्याउँछ।
हाल यस क्षेत्रमा ७ देखि १० जना भक्तजनलाई बस्ने र सुत्ने सामान्य व्यवस्था रहेको छ। यस्ता ओझेलमा परेका धार्मिक स्थलहरूको विकासका लागि सबैले हातेमालो गरेर अगाडि बढेमा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकांक्षामा थप टेवा पुग्ने निश्चित छ।







