— घनश्याम कोइराला
७ श्रावण ।कमरेड पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता हुनुहुन्छ । कमरेड पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा भएको हो । पुष्पलालको आमाको नाम तुलसीकुमारी र बुवाको नाम भक्तलाल श्रेष्ठ हो । पुष्पलाल आफ्नो आमाबुवाका माहिलो छोरा हुनुहुन्थ्यो । कमरेड पुष्पलालको पारिवारिक पृष्ठभूमि राजनीतिक रूपमा सचेत र सङ्गठित थियो । पुष्पलालका बुवा भक्तलाल सरकारी कर्मचारी हुनुहुन्थ्यो । न्यून वैतनिक कर्मचारी सङ्गठनमा सङ्गठित हुनुहुन्थ्यो । भक्तलाल श्रेष्ठ वि.स. २००९ सालमा भएको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालमा सहभागी हुनुभएको थियो र आन्दोलन सञ्चालन गर्ने एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो ।
पुष्पलालका दाजु गङ्गालाल श्रेष्ठ राणाशाही विरुद्धको आन्दोलनमा सङ्लग्न हुनुहुन्थ्यो । आन्दोलनमा लागेकै हुनाले वि.सं. १९९७ सालमा गङ्गालाल श्रेष्ठलाई तत्कालीन शासनले गोली हानेर मारेको थियो । गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नुअघि भद्रगोल जेलमा पुष्पलाललगायतका परिवारका सदस्यहरू भेट्न जानुभएको थियो । त्यतिबेला भेटघाटका क्रममा गङ्गालालले पुष्पलाललाई भन्नुभएको थियो, ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् !’
जानकारहरूका अनुसार दाजुको यही शब्द नै पुष्पलाललाई राजनीतिमा लाग्ने र सक्रिय हुने प्रेरणाको स्रोत बन्यो । उहाँलाई १९९७ साल माघ १५ गते दशरथ चन्द्रसंगै गङ्गालाल श्रेष्ठलाई गोली ठोकेर हत्या गरे । हामी सबैलाई थाहा नै छ—गङ्गालाल श्रेष्ठ जहाँनियाँ राणा शासन अन्त्यका लागि सहिद हुनुभएका चार सहिद मध्येका एक महान् सहिद हुनुहुन्छ । पुष्पलालको जीवनमा वहाँका दाजु महान् सहिद गङ्गालाल श्रेष्ठको ठूलो प्रभाव परेको स्पष्ट देखिन्छ । पुष्पलालले वि.सं. १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर ‘नेपाली प्रजातान्त्रिक संघ’ गठन गर्नुभयो ।
यस संघमा सम्मिलित भएका सबै सदस्यहरूले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही छाप गर्नुपर्ने नियम बनाएर लागू गरेका थिए । नेपाली राजनीतिका जानकार इतिहासकारहरूका अनुसार ‘नेपाली प्रजातान्त्रिक संघ’का कार्यकर्ताहरू राणाशासनको विरोध गर्दथे । उनीहरूले विद्यालयहरू खोली पढाउनुका साथै विभिन्न खालका सिपमूलक तालिम समेत दिने गर्दथे । पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क गर्नुभयो आफू भूमिगत रूपमा भारतमा रहनुपर्ने भएको र रोजगारी एवं शिक्षार्जनका लागि भारत जाने विद्यार्थीहरूको संख्या ठूलो रहेको हुँदा नेपालको राजनीतिक व्यवस्थाबारे जानकारी गराउन आवश्यक थियो ।
यसो गर्दा नेपालको विभिन्न भागमा एकैपटकमा राजनीतिक सन्देश देशव्यापी हुन सक्दथ्यो । नेपालको राजनीतिक घटनाक्रमबारे भारतमा रहेका नेपालीहरूलाई जानकारी गराउनु राणशाहीका विरुद्धमा उनीहरूलाई सचेत गराउनु थियो । यसका लागि पुष्पलालले टंकप्रसाद आचार्यलगायतका नेताहरूको नेलसहितको फोटो सन् १९४२ भारतीय अखबारमा छपाउनु भएको थियो । भारतको बिहार राज्यको पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा ती सामग्री प्रकाशित गर्न मद्दत गर्नुभएको थियो । वि.स. २००४ सालमा नेपाली राष्ट्रिय काँग्रेसले नागरिक अधिकारका लागि नेपाली काँग्रेसले आन्दोलन सुरु गरेको थियो । यस आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गरेको बताइन्छ ।
भनिन्छ, नागरिक अधिकारका लागि जनताद्वारा गरिएको यो जनआन्दोलन थियो । यस आन्दोलनकै कारण तत्कालीन राणा प्रधानमन्त्री पद्म शमशेरले केही सुधारको कदम चाल्ने घोषणा गरेका थिए । करिब २५ वर्षको उमेरमा पुष्पलालले दार्शनिक हिसाबले आफूलाई कम्युनिष्ट विचारधारामा आफूलाई बलियो गरी उभ्याइसक्नुभएको थियो । वहाँले माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो, नेकपा स्थापनाको अगुआइ गर्नुभयो । नेकपाको इतिहासका जानकारहरूका अनुसार २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो । त्यसबखत पुष्पलाल पश्चिम बङ्गालका कम्युनिष्ट नेता ज्योति बसुको नजिकहुनुहुन्थ्यो ।
पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्नका लागि ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो । वि.स. २०१० सालमा वहाँको विवाह साहना प्रधानसँग भएको हो । वि.स.२०१५ सालको आमचुनावमा बन्दीपुरमा जानुभएको थियो । वि.स.सालमा २०१६ सालमा वहाँ सोभियत सङ्घमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनभ्रमण गर्नुभयो । वि.स.२०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन सुरु भयो । वहाँ पार्टी विस्तारका लागि भूमिगत रूपमै नेपालका पूर्वी पहाडी भूभागतिर जानुभएको थियो । पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो ।
जानकारहरूका अनुसार जातीय पहिचान देखिने भएको र आफू सम्पूर्ण नेपालीहरूको साझा व्यक्ति भएकोले पुष्पलालले आफ्नो नामको अगाडि श्रेष्ठ थर लेख्नु भएन, सुरुमा नेपाली लेख्नुभएको भए पनि त्यो पनि नलेखी पुष्पलाल मात्र लेख्नुभयो । नेकपाका संस्थापक महासचिव पुष्पलालले नेपाली काँग्रेस र नेपाली कम्युनिष्टहरू मिलेर पञ्चायती निरंकुश व्यवस्था विरुद्ध संघर्ष गर्नुपर्ने र त्यसो गरेमा गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने विश्वासमा अडिग रहनुभयो ।
पञ्चायती निर्दलीय निरंकुशताका विरुद्ध संघर्ष गर्दै र नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउने अभियानमा लागिरहेका नेता पुष्पलाल वि.स. २०३५ साल साउन ७ गते दिल्लीकाे गाेविन्द बल्लभ पन्त अस्पतालमा उपचार गराउँदा–गराउँदै निधन भयो । निरंकुश तथा निर्दलीय पञ्चायती शासकहरूले जिउँदा पुष्पलाललाई त सहेन नै वहाँको निधनपछि वहाँको पार्थिव शरीर समेत नेपाल ल्याउन दिएनन् । वहाँका अनुयायीहरूको प्रयत्नमा वहाँलाई जलाइएको खरानी पनि लुकाएर ल्याउनु परेको थियो । पुष्पलालको व्यक्तित्व त्यस्तो थियो, जसको खरानीसँग पनि शासकको सातो जान्थ्यो ।
वहाँले देखाएको बाटोमा हिँड्नु नै साँचो श्रद्धाञ्जलि हुनेछ ।
महान् नेता पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जलि !






