संकटको सामना सहमति र संयमको मार्गमा अघि बढ्ने

Shares

यो समय व्यक्तिगत आकांक्षा प्रदर्शन गर्ने वा शक्ति देखाउने घडी होइन। अहिलेको आवश्यकता संयम, जवाफदेहिता र दूरदर्शिता हो र, त्यो पनि अत्यन्तै कठोर परीक्षा स्वरूप हो ।

नेपाल अहिले आफ्नो इतिहासकै एक अति संवेदनशील मोडमा उभिएको छ। राजनीतिक उक्साहट, आत्मरक्षाको नाममा फैलाइएका भ्रमहरू, र आन्दोलनका नाममा भइरहेको प्रतिशोधले देशलाई विभाजन र हिंसाको खतरनाक दिशातर्फ डोर्याइरहेको छ। विशेषगरी जेन-जि आन्दोलनपछि देखिएका तीव्र राजनीतिक प्रतिक्रियाहरू र सत्तारुढ–विपक्षी दलबीचको आरोप–प्रत्यारोपले देशलाई गृहद्वन्द्वको गहिरो खाडलमा झार्ने खतरा बढेको छ।

हामी सबैले बुझ्नुपर्छ, आगो सल्काउन सजिलो छ, तर निभाउन गाह्रो।

राजनीतिक दलहरूबीचको असहमति अब वैचारिक बहसमा सीमित छैन। यो अवस्था सडकमा ग्याङ–कल्चरको झल्को दिन थालिसकेको छ। सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत फैलाइएका अपुष्ट खबर, उत्तेजक टिप्पणी र ‘नायक–खलनायक’ शैलीका बयानहरूले झनै स्थिति बिगारिरहेका छन्। नेताहरूका भावनात्मक र आत्मरक्षात्मक अभिव्यक्तिहरू कार्यकर्तालाई अझ उत्तेजित बनाइरहेका छन्—जसको परिणाम नियन्त्रणभन्दा बाहिर जान सक्ने खतरा छ।

जेन-जि आन्दोलनका क्रममा प्रहरीले प्रयोग गरेका करिब १२०० घातक हतियार विभिन्न असन्तुष्ट समूहहरूको हातमा पुगेको विवरणले अवस्था झनै चिन्ताजनक बनाएको छ। यदि यी हतियार राजनीतिक झडपमा प्रयोग भए भने त्यसको परिणाम राजनीतिक परिवर्तन होइन—नागरिक हिंसा र संहार हुनेछ। यस्तो दु:खद घटनाको जिम्मेवारी कोही लिन सक्दैन।

यस्तो संकटमा नेतृत्वको भूमिका अत्यन्त निर्णायक हुन्छ। विशेष रूपमा उठेका गम्भीर प्रश्नहरूको जवाफ दिनु उनीहरूको नैतिक र राजनीतिक दायित्व हो। जनतासँग माफी माग्दै निष्पक्ष अनुसन्धानमा सहभागी हुने साहसिक कदमले मात्रै हिंसाको सम्भावना कम गर्न सकिन्छ। यस्तै आत्मासमर्पणले सत्यतथ्य उजागर गर्न सहयोग पुर्‍याउनेछ र जनविश्वास पुनःस्थापित गर्नेछ।

कार्यकर्ताहरूलाई पनि आग्रह छ—संयम अपनाऔं। प्रतिशोधले नेतृत्वलाई जोगाउँदैन, देशलाई अझै कमजोर बनाउँछ।

जेन-जि आन्दोलन केवल युवा पुस्ताको आक्रोश होइन, यो दिशाहीन र असफल नेतृत्वप्रति एउटा गहिरो चेतावनी पनि हो। यदि यो उर्जा हिंसातर्फ मोडियो भने त्यसले निर्माण होइन, विनाश मात्रै ल्याउनेछ। नेतृत्वले बुझ्नुपर्छ–सत्ता प्राप्ति भन्दा देशमा स्थायित्व र शान्ति कायम राख्नु ठूलो उपलब्धि हो। आन्दोलनलाई संवाद र सुधारको अवसरमा रूपान्तरण गर्न सकिन्छ, तर त्यसका लागि नेताहरूमा इमानदारी र जवाफदेहिता हुनुपर्छ।

यस संकटको सामना गर्न जिम्मेवारी केवल सरकारको मात्र होइन—विपक्ष, सञ्चारमाध्यम, र प्रत्येक नागरिकको पनि बराबरी छ। सामाजिक सञ्जालमा हिंसात्मक सामग्री र अफवाहहरू फैलाउनु तुरुन्त रोकिनुपर्छ। राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई उक्साउने होइन, संवाद र सहकार्यको बाटो रोज्नुपर्छ।

नेपालको भविष्य अहिले हाम्रो हातमा छ। यो देश द्वेष र हिंसाको ज्वालामा जल्ने कि सहमति र संयमको मार्गमा अघि बढ्ने—निर्णय हामी सबैले गर्नुपर्छ।

😀
0
😍
0
😢
0
😡
0
👍
1
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.