बुटवल। बुटवलमा अन्तर विद्यालय जिल्ला स्तरीय कविता रचना तथा वाचन एवं निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यका साथ शुक्रबार राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा भएको हो । प्रतियोगिताको सिनियर कविता वाचनमा स्कलर्स होम ईगलिस बोर्डिङ स्कुलकी बार्बिका बन्जाडे प्रथम भएकी छिन् ।
यसैगरी नमुना एभर ग्रिन इङ्लिस बोर्डिङ स्कुलकी नुरङ सारु द्वितीय तथा ग्लोरी बोर्डिङ स्कुलकी सुप्रिया घिमिरे तृतीय, सिद्धार्थ ग्यालेक्सी पब्लिक स्कुलकी स्मृति भट्टराई सा न्त्वनाभएकी छिन्। जुनियर कविता वाचनमा देवदह ईगलिस बोर्डिङ स्कुलकी निकोल चापागाई प्रथम, नमुना एभरग्रिन ईगलिस बोर्डिङ स्कुलकी समृद्धि ज्ञवाली द्वितीय, ग्लोरी बोर्डिङ स्कुलकी कृषा ज्ञवाली तेस्रो तथा मोर्डन पब्लिक स्कुलका दिप्सन घिमिरे सान्त्वना भएका छन ।

यता निबन्ध लेखनमा भने नमुना एभरग्रिन ईगलिस बोर्डिङ स्कुलकी सुस्मिता चालिसे प्रथम भइन् । ब्राईट स्टार ई.बोर्डिङ स्कुलका जैनव पठान द्वितीय, बुटवल ग्लोरी ईगलिस बोर्डिङ स्कुलकी निसु राना तृतिय तथा स्कलर्स होम बोर्डिङ स्कुलकी सरिता थापामगर सान्त्वना भएकी छिन ।
विजेताहरुलाई बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष प्रदिप श्रेष्ठ, एन प्याब्सनका केन्द्रिय उपमहासचिव विष्णु प्रसाद पौडेल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, एन प्याब्सनका केन्द्रिय सल्लाहकार राजु गुरुङ, केन्द्रिय सदस्य बिल प्रसाद गुरुङ, जिल्ला अध्यक्ष बाबुराम बन्जाडे, कोषाध्यक्ष कमल पौडेलले विजेता, उपविजेताहरुलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा वडाअध्यक्ष प्रदिप श्रेष्ठले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनका नमुना कार्यक्रमलाई वर्षभरिनै नियमित धेरै भन्दा धेरै गर्नुपर्ने बताए । प्रतियोगितामा कविराज पौडेल, कृष्ण पाण्डेय निर्णायक रहेका थिए ।
कविराज पौडेलले विद्यार्थीहरुबाट राम्रो कविता र निबन्धहरु आएको भन्दै अझ धेरै सुधारका बारेमा ज्ञान दिए । कवितामा लेखन र वाचन दुबै जरुरी रहने भन्दै कवितामा बिम्ब, प्रतिक, छन्द र लय, हाउभाउका आधारमा विजेता घोषणा गरिएको उनले बताए । निबन्धमा भने लेखन मुख्य हुने भन्दै शिर्षक सार्थकता, भाषा, साहित्य र आलन्कारिता जस्ता हेरिएको उनले बताए ।
जिल्ला अध्यक्ष बन्जाडेले संस्थामा आवद्ध विद्यालयहरुको सुधार, शिक्षक क्षमता विकास र वार्षिक कार्ययोजना अनुसार रचनात्मक कार्यहरु गर्दै आएको बताए । संस्थागत पहलमा धेरै उपलब्धिहरु हासिल भएको समेत उनले दाबी गरे ।
प्रतियोगिता अन्तरगत कविता रचनातर्फ ११ र निबन्ध लेखनतर्फ १६ विद्यालयबाट सहभागी रहेको सचिव अमित यादवले बताए ।





