कहिलेकाहीँ समस्या ठूलो हुँदैन,
हामीबीचको मौन ठूलो हुन्छ।
भ्रमको उपचार संवाद हो,
दूरीको उपचार संवाद हो,
टुट्न लागेको सम्बन्धलाई थाम्ने हात पनि संवाद हो।
नयाँ सम्बन्धको पहिलो पाइला पनि संवाद नै हो।
जहाँ शब्दहरू रोकिन्छन्,
त्यहाँ अनुमानहरू जन्मिन्छन्।
अनुमानले भ्रम बनाउँछ,
भ्रमले दूरी बढाउँछ,
र दूरीले सम्बन्धमा दरार ल्याउँछ।
तर एउटा सानो संवादले
वर्षौँदेखि जमेको मौन पगाल्न सक्छ।
एउटा इमानदार कुराकानीले
बिग्रिएको सम्बन्ध जोड्न सक्छ,
गतिरोध खोल्न सक्छ,
र असम्भवजस्तो देखिएको बाटोलाई
फेरि सम्भव बनाउन सक्छ।
इतिहासमा ठूला युद्धहरू संवादबाट रोकिएका छन्,
वर्षौँका विवाद संवादबाट टुंगिएका छन्,
टुटेका सम्बन्धहरू संवादबाट पुनः जोडिएका छन्।
किनकि संवाद केवल शब्दहरूको आदानप्रदान होइन,
एकअर्कालाई बुझ्ने प्रयास हो।
आज हामीसँग दूरी बहाना बन्ने समय पनि छैन।
हामी IT को युगमा छौँ।
सामुन्ने बसेर मात्र संवाद गर्नुपर्छ भन्ने छैन।
फोन, म्यासेज, भिडियो कल, डिजिटल र भर्चुअल माध्यमबाट
जो जहाँ छौँ, त्यहीँबाट जोडिन सक्छौँ।
त्यसैले,
मौनलाई जिद्दी नबनाऔँ।
दूरीलाई नियति नबनाऔँ।
भ्रमलाई सत्य नठानौँ।
पूर्वाग्रहभन्दा संवादलाई रोजौँ।
सकारात्मक सोचौँ।
एकअर्कालाई बुझ्ने प्रयास गरौँ।
आवश्यक परे पहिलो शब्द आफैँ बोलौँ।
किनकि कहिलेकाहीँ
समाधान टाढा कतै हुँदैन,
हामीले सुरु गर्न नसकेको एउटा संवादको अर्को छेउमै हुन्छ।
आउनुस्,
संवादमा जुटौँ।
सम्बन्ध बचाऔँ,
गतिरोध हटाऔँ,
र सम्भावनाका ढोकाहरू खोलौँ।
संवाद गरौँ,
किनकि परिवर्तनको पहिलो शब्द
प्रायः संवाद नै हुन्छ।
Post Views: 47,970





