१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका समानुपातिक तथा प्रत्यक्ष निर्वाचनका साथै राष्ट्रिय सभा सदस्यका उम्मेदवार सिफारिसका लागि तल्लो तहका संगठनहरूलाई परिपत्र गर्ने तयारी गरेको छ।
राष्ट्रिय सभाका रिक्त हुने सदस्यको निर्वाचन ११ माघमा तोकिएको छ। कांग्रेसको विधानअनुसार एक सिटका लागि केन्द्रलाई बढीमा तीन नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ। जिल्लास्थरीय पार्टी संरचनाबाट योग्यता पुगेका सम्भावित उम्मेदवारहरूको सूची संकलन गरी केन्द्रमा पठाउनुपर्ने उल्लेख विधानमै छ।
सहमतिको आधारमा नाम छान्न सकिने र सहमति नजुटे बहुमतकाे आधारमा तीन नाम सिफारिस गरी केन्द्रमा पठाउन सकिने प्रावधान छ। तल्लो तहबाट आएको सूचीका आधारमा संसदीय समितिले अन्तिम उम्मेदवार छान्ने प्रक्रिया रहनेछ।
सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा (प्रत्यक्ष तथा समानुपातिक) निर्वाचनका आकांक्षीहरूको नाम सङ्कलनका लागि मातहतका संरचनालाई औपचारिक परिपत्र गर्ने निर्णय गरेको छ।
निर्णयमा, “प्रक्रिया पूरा गरी उम्मेदवारको नाम प्रस्ताव एवं सिफारिस गर्न सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशन सहित परिपत्र गरिने” उल्लेख गरिएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची बुझाउन पुस १८ र १९ गते मिति तोकेको छ। त्यसैगरी, प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन आगामी २१ फागुनमा हुने कार्यक्रम तय गरिएको छ।






