१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा समर्थन नगरेको स्पष्ट पारेका छन्।
चिनियाँ विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको एक रिपोर्टमा प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा नेपालले जीएसआईलाई समर्थन गरेको दाबी गरिएको थियो। तर, सो भेटमा सहभागी रहेका पूर्वअर्थमन्त्री खतिवडाले उक्त दाबी असत्य भएको बताए।
उनका अनुसार नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिअनुसार नेपाल कुनै पनि मुलुकको सुरक्षा रणनीतिमा संलग्न हुँदैन। ‘सहमति नै नभएको विषयलाई प्रचार गर्नु गलत हो,’ उनले भने।
प्रधानमन्त्री ओलीले भदौ १४ गते चीनको तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी हुँदै राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटपछि जारी भएको चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा नेपालले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई), जीएसआई र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) लाई समर्थन गरेको उल्लेख थियो।
डा. खतिवडाले भने नेपालले केवल बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) अन्तर्गत भएका सहमति र सम्झौताका कार्यान्वयनलाई प्राथमिकतामा राखेर छलफल गरेको स्पष्ट पारे। जीएसआई र जीसीआईमा समर्थन जनाएको भनाइ गलत भएको उनले दोहोर्याए।
(राससको सहयोगमा)






