‘मतदान सबैको अधिकार’: देवदहमा युवा–संचालित दर्ता अभियानले लियो गति

Shares

३० कार्तिक रूपन्देही- जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति सार्वजनिक गरेपछि देवदहमै मतदाता नामावली दर्तालाई सहज बनाउन सुरु गरिएको अभियान अहिले अझै तीव्र गतिमा चलिरहेको छ। मतदान अधिकारबाट कसैलाई वञ्चित हुन नदिने उद्देश्यले स्थानीय युवाहरूले ठूलो उत्साहका साथ यो पहललाई अघि बढाइरहेका छन्। अभियानका सक्रिय सदस्य रोहित वाग्लेका अनुसार दर्ता प्रक्रियालाई सरल बनाउने लक्ष्यले यो कार्य निरन्तर रूपमा विस्तार भइरहेको छ।

कार्तिक २५ गतेबाट सुरु भएको अभियान देवदह आदर्श बहुमुखी क्याम्पस, ग्रीन प्लान्ट आवासीय मावि र देवदह–४, ५ र ६ का वडाकार्यालयमार्फत एकसाथ सञ्चालन भइरहेको छ। केही दिनमै १५०० भन्दा बढी नागरिकले निशुल्क फारम भरेका छन् र आवश्यक कागजात तयारीमा सहयोग पाएका छन्। वाग्लेका अनुसार दर्ता अवधि कायम रहनेसम्म अभियान रोकिने छैन।

देवदह बाहिर रहेका युवाहरूलाई समेत समेट्न अभियन्ताहरूले सामाजिक सञ्जाललाई मुख्य माध्यम बनाएका छन्। फेसबुक ग्रुप, व्हाट्सएप समूह र अन्य अनलाइन साधनमार्फत फारम भरिदिने, जानकारी उपलब्ध गराउने र प्रक्रिया बुझाउने काम भइरहेको छ। सुस्मिता ढकालका अनुसार हालसम्म ४० भन्दा बढी स्थानीय युवाहरू स्वयंसेवकका रूपमा अभियानमा सक्रिय छन्, र थप युवा पनि जोडिन थालेका छन्।

अर्का अभियन्ता रोहित वाग्लेले सुरुमा सहभागिता केही सुस्त भए पनि अहिले स्थानीय र बाहिर रहेका दुवै समूहका युवाहरूको साथ उत्साहजनक रूपमा बढेको बताए। फेसबुक लाइभ, भर्चुअल अन्तरक्रिया र अनलाइन सामग्रीमार्फत दर्ता प्रक्रियाबारे जनचेतना फैलाउने गतिविधिले राम्रो प्रभाव पारेको उनले बताए।

यो अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन कतारमा रहेर सक्रिय रूपमा योगदान गरिरहेका स्वतंत्र नेपालको भूमिका पनि महत्वपूर्ण रहेको युवाहरूले उल्लेख गरेका छन्। विदेशी भूमि कतारबाटै उनले देवदहका युवाहरूलाई प्रेरणा दिने, मार्गदर्शन गर्ने र अभियानलाई सही दिशामा लैजान सहयोग गर्दै आएका छन्। उनका सुझाव र समन्वयले युवाहरूबीच उत्साह बढेको अभियन्ताहरूले बताएका छन्।

अभियानमा प्रत्यक्ष रूपमा खटिएका युवाहरूमा नवीन लुइटेल, बिमल भुसाल, गोपाल पाण्डे, थानेश्वर लम्साल, ज्योति काफ्ले, कल्पना पाठक, आविष्कार सुनार, निश्चल अर्याल, रोहित वाग्ले, नवीन पाण्डे, समज्ञा अधिकारी, सुस्मिता ढकाल, मुकेश ज्ञवाली, आविष्कार पराजुली, आविष्कार सुणारलगायत धेरै युवक–युवती सक्रिय छन्। उनीहरूले दैनिक रूपमा बस्तीहरूमा पुगेर दर्तासम्बन्धी सहयोग र जानकारी दिइरहेका छन्।

त्यस्तै, रोजगारी र अध्ययनका कारण देवदह बाहिर रहेका युवाहरू पनि अभियानलाई आफ्नो क्षमताभित्रबाट समर्थन गर्दै आएका छन्। बिनोद पान्डे, राजु पाण्डे, सागर पाण्डे, अस्मित रेग्मी, डिल्लिराम भट्टराई, राहुलदेव सापकोटा, रेसम अधिकारीलगायतले अनलाइनमार्फत परामर्श, समन्वय र फारम समीक्षा गर्दै सहयोग पुर्‍याइरहेका छन्।

अभियानका सदस्यहरूको भनाइमा, ‘मतदान सबैको अधिकार’ भन्ने भावना नै यसको मूल प्रेरणा हो। स्थानीय युवाहरूको सामूहिक प्रयासले दर्ता प्रक्रिया सहज मात्र बनेको छैन, लोकतान्त्रिक सहभागिताको भावना पनि बलियो भइरहेको वाग्लेले बताए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.