३० असौज ,अर्घाखाँची– अर्घाखाँचीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। घटना गएराति छत्रदेव गाउँपालिका–१ चिदिकामा भएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार लु ५८ प ७९७८ नम्बरको मोटरसाइकल र लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुबै चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये अर्घाखाँची पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनार रहेका छन्। दुवैको उपचारका क्रममा राति करिब पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलका पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा कोइराला र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी सिटी अस्पताल रेफर गरिएको छ। प्रहरीका अनुसार दुबै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको अनुमान गरिएको छ।






