साउन २३, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा एमालेका केही अनुहार परिवर्तन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले भारत भ्रमणअघि नै ती मन्त्रीहरू परितर्वन गर्न लागेको एमाले स्रोतले बताएको छ । त्यसको संकेत ओलीले एमाले संसादहरूलाई दिइसकेका छन् । ओलीले प्रदेशगत हिसाब मिलानसमेत गरेर मन्त्री बनाउन खोजिरहेका छन् ।
प्रधानमन्त्रीनिकट एमाले स्रोतले दिएको जानकारीअनुसार एमालेले चार मन्त्री फेर्ने तयारी गरेको हो । अहिले प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईलाई बिदा गरेर नयाँ अनुहार ल्याउन खोजेका छन् ।
बालुवाटारनिकट स्रोतले शिलापत्रलाई दिएको जानकारीअनुसार ओलीले कोशी प्रदेशबाट मन्त्री भएका देवेन्द्र दाहाल र मानवीर राईलाई बिदा गरेपछि सोही प्रदेशबाट योगेश भट्टराई र एलपी साँवा लिम्बूलाई मन्त्री बनाउन खोजेका छन् ।
भट्टराईलाई एक वर्षअघि नै मन्त्री बनाउन खोजिएको थियो । यद्यपि, अन्तिममा गुरुङको इन्ट्री भएपछि भट्टराई बाहिर परेका थिए । त्यसैगरी, लिम्बू मन्त्री भएमा पहिलोपटक हुनेछन् । भट्टराई ताप्लेजुङबाट निर्वाचत सांसद हुन् भने लिम्बू झापा ४ बाट निर्वाचित सांसद हुन् ।
त्यसैगरी, ओलीले ‘गुडलिस्ट’मा सांसद सूर्य थापा र तारा लामा तामाङलाई पनि राखेको एमाले स्रोतको दाबी छ । त्यही संकेत दिन थापालाई ओलीले तुर्कमेनिस्तानको भ्रमण टोलीमा राखेको एमाले स्रोतको भनाइ छ । थापा प्युठानबाट निवार्चित सांसद हुन् भने लामा कञ्चनपुर– १ बाट निर्वाचित सांसद हुन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेलाई भने ओलीले मन्त्रिपरिषद्मा निरन्तरता दिने मनसाय बनाएका छन् । एमाले स्रोतले भन्यो, ‘पौडेल र गुरुङ त समीकरण मिलाउन पनि निरन्तरता दिनैपर्ने अवस्था छ, अहिले थापालाई सँगै भ्रमणमा लिएर जानुको अर्थ पनि अबको मन्त्री उनै हुन् भन्ने सन्देश दिइएको छ । भट्टराई त कन्फर्मजस्तै छ ।’
हालका उद्योगमन्त्री भण्डारी बैतडीबाट तीनपटक निर्वाचित भए पनि उनको कामप्रति प्रधानमन्त्री ओली सन्तुष्ट नभएको स्रोतको दाबी छ । उनको ठाउँमा आफ्नो जिल्लाबाट साँवालाई राख्नुपर्छ भन्नेमा ओली कन्भिन्स देखिए पनि सुदूरपश्चिमको प्रतिनिधि छुट्ने हुनाले लामालाई के गर्ने भन्ने प्रश्न बालुवाटारमा उठेको छ ।
ओलीलाई सुदूरपश्चिमको प्रतिनिधि छुटाउन नहुने भनेर तुर्कमेनिस्तान उड्नुअघि नेताहरूले सुझाव दिएको स्रोतको दाबी छ । तर, ओलीले एकल निर्णय गर्ने हुँदा उनकै मुडमा भर पर्ने ती नेताले जानकारी दिए । उनका अनुसार ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपानेको २० फागुनमा राष्ट्रियसभा सदस्यको म्याद सकिने हुँदा लिम्बू–लामामध्ये एकलाई फागुनसम्म कुर्न लगाउने सम्भावना पनि छ ।
एमालेबाट जाने नयाँ अनुहारका लागि मन्त्रालयको विषयमा ठूलो छलफल भएको छैन । यद्यपि, मन्त्रिपरिषद्मा कांग्रेसका पनि केही मन्त्री फेरिने हुँदा ओली–देउवाको सहमतिमा मन्त्रालय तलमाथि पर्न सक्ने बताइएको छ






