२२ असोज, काठमाडौँ — गाजामा जारी द्वन्द्व अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको युद्धविराम योजनाअनुसार इजरायल र हमासबीच इजिप्टमा सोमबारदेखि अप्रत्यक्ष वार्ता सुरु भएको छ। वार्ताको मुख्य एजेन्डा बन्धकहरूको रिहाइ रहेको बताइएको छ।
इजिप्टको सरकारी सञ्चार संस्था अल-काहेरा न्यूज का अनुसार, शरम अल-शेख सहरमा सुरु भएको वार्तामा हमासका प्रतिनिधिहरू र इजरायली अधिकारीहरू सहभागी छन्। इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले वार्ता सहज बनाउन भूमिका खेलिरहेका छन्।
७२ घण्टाभित्र बन्धक र कैदीहरूको साटासाट प्रस्ताव
ट्रम्पको योजनाअनुसार, युद्धविराम घोषणा भएको ७२ घण्टाभित्र हमासले बाँकी रहेका ४८ बन्धकहरू रिहा गर्नेछ भने इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ। तीमध्ये २५० जना आजीवन कारावास सजाय भोगिरहेका छन्।
हमासको नियन्त्रणमा रहेका ४८ बन्धकमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि परेका छन्। उनी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेका थिए। २०२३ अक्टोबर ७ मा हमासले हमला गर्दा जोशीलाई अलुमिम किबुजबाट अपहरण गरिएको थियो। हमासको नियन्त्रणमा रहेका बन्धकहरूमध्ये २० मात्र जीवित रहेको अनुमान इजरायलले गरेको छ।
इजरायलको पुष्टि, अमेरिका र कतारको सक्रियता
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले वार्ता सुरु भएको पुष्टि गर्दै इजरायल “सबै सम्भावनाका लागि तयार” रहेको जनाएको छ। वार्तामा मोसाद र शिन बेटका अधिकारीहरूसहित नेतान्याहुका विदेश नीति सल्लाहकार र बन्धक समन्वयक सहभागी छन्। रणनीतिक मामिलामन्त्री रोन डर्मर पनि वार्तामा सामेल हुने तयारीमा छन्।
युद्धविराम योजनाअनुसार इजरायली सेनालाई क्रमिक रूपमा गाजाबाट फिर्ता गर्नुपर्ने प्रस्तावमा हमासले सर्तसहित सहमति जनाइसकेको छ। वार्तालाई थप बल दिन अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ र सल्लाहकार जारेड कुशनर तथा मध्यपूर्व दूत स्टिभ विटकफ बुधबार इजिप्ट जाँदै छन्।
अविश्वासका बादल र सकरात्मक संकेतहरू
इजिप्टका सञ्चारमाध्यमले हमासले इजरायली सैनिक फिर्ता हुने ग्यारेन्टी खोजिरहेको जनाएका छन्। तर, दुवै पक्षबीच गहिरो अविश्वास रहेको बताइन्छ। एक प्यालेस्टिनी अधिकारीका अनुसार, हमास लगायतका समूहहरूलाई डर छ कि इजरायलले बन्धकहरू रिहा भएपछिमात्र वार्ता तोड्न सक्छ।
कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले दोहामा पत्रकारहरूसँग कुरा गर्दै वार्तामा गहन छलफल भइरहेको र बाँकी रहेका अवरोधहरू हटाउने प्रयास भइरहेको जानकारी दिए।






