२१ असोज, काठमाडौं — हालै जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट भागेका मध्ये करिब ५ हजार ६९७ जना अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
देशभर २८ वटा कारागार र ९ वटा बालसुधारगृहबाट कुल १४ हजार ५५३ बन्दी भागेका थिए। तीमध्ये ८ हजार ८५१ जना फेरि कारागार फर्किसकेका छन्। तर अझै पनि ५ हजार ७९ जना कैदी र ६१८ बालबन्दी गरी कुल ५ हजार ६९७ जना फरार छन्।
गृह मन्त्रालयले असोज १० गतेसम्म आत्मसमर्पण गर्न अल्टिमेटम दिएको थियो। तर धेरैले त्यसको पालना नगरेपछि सरकारले विशेष सुरक्षात्मक अभियान चलाएको छ। सुरक्षाकर्मीहरूले फरार बन्दीहरूलाई पक्राउ गरी पुनः कारागारमा पुर्याउने काम जारी राखेका छन्।
फरार बन्दी फिर्ता ल्याउन गृह मन्त्रालयले जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ, जसमा सुरक्षा निकायलगायत विभिन्न प्रतिनिधिहरू सहभागी छन्।
भाग्ने कैदीहरू झुम्का, नख्खु, डिल्लीबजार, चितवन, मकवानपुर, कास्की, कैलाली, कञ्चनपुर लगायतका कारागारबाट थिए भने बालबन्दी मोरङ, पर्सा, कास्की, रुपन्देही, डोटी लगायतका बालसुधार गृहबाट भागेका हुन्।
भाग्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो। त्यस्तै, नौवस्ता बालसुधार गृहमा भएको झडपमा पाँच बालबन्दीको ज्यान गएको थियो।
सरकारले फरारलाई चाँडो फर्कन सूचना दिँदै आएको छ। नफर्किए कानुनअनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ।
हाल देशका ७२ जिल्लामा रहेका ७५ कारागारमा ३० हजार ६४६ जना कैदीबन्दी रहेका छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी पूर्व र पूर्वी रुकुममा भने कारागार छैन।






