पूर्वअध्यक्षहरुसँग सामुदायिक वन समन्वय समितिको छलफल कार्यक्रम सम्पन्न

Shares

२ मंसिर ,पाल्पा – पाल्पा जिल्लाको तिनाउमा रहेको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता संगठन सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पा ले मंगलबार आफ्ना पूर्वअध्यक्षहरुसँग संस्थागत विकास, विगत र वर्तमानका गतिविधि तथा भविष्यका लक्ष्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विभिन्न पूर्वअध्यक्षहरुले संस्थाको गतिविधि, चुनौती र आगामी योजनाका विषयमा आफ्ना अनुभव र सुझावहरु साझा गरे।

पूर्वअध्यक्ष राजेश श्रेष्ठले वन, वातावरण र जैविक विविधता संरक्षणमा समितिले निभाएको भूमिकाको महत्व औँल्याउँदै, सरकारी तथा गैरसरकारी संघसंस्थासँग निरन्तर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिए। उनले वर्तमानमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकायबाट अपेक्षित सहयोग कम भइरहेकाले संस्थाले आफ्नै पहलमा कामलाई निरन्तरता दिनुपर्ने पनि औँल्याए।

पूर्वअध्यक्ष दोलकराज कार्कीले संस्थाको स्थापना कालदेखि भएको मेहनतको मूल्यांकन गर्दै, संस्थाको इतिहासलाई सँगै लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले बजेटविहीन कार्यक्रमहरु सञ्चालन गरी संस्थालाई जीवित राख्न सकिने पनि बताए।

पूर्वअध्यक्ष तथा वातावरणीय कानूनका विशेषज्ञ अधिवक्ता महेन्द्रप्रसाद पाण्डेयले वन, वातावरण र जैविक विविधता संरक्षणमा नयाँ मुद्दा उत्पन्न भइरहेको र त्यसको समाधानका लागि अनुसन्धान, अध्ययन र प्रविधिको आवश्यक रहेको बताए। उनले २०७४ पछि स्थानीय सरकारले गैरसरकारी संस्थालाई विकासका साझेदार संस्था मान्ने प्रक्रिया बिर्सिएको पनि औँल्याए।

निवर्तमान अध्यक्ष पदमलाल शाक्यले संस्थाको मुख्य स्रोत सामुदायिक वन उपभोक्ता समूह भएको बताउँदै, उनीहरुसँग सहकार्य गर्दै कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए।
संस्थाका अध्यक्ष दलबहादुर गुरुङले विगतदेखि वर्तमानसम्म संस्था वन, वातावरण र जैविक विविधता संरक्षणमा खेलेको भूमिका, प्राप्त उपलब्धि र भविष्यका लक्ष्यहरुबारे प्रकाश पारे। उनले वन उपभोक्ता समूहहरुको सुशासन र सशक्तीकरणमा संस्थाले निभाएको भूमिका पनि उल्लेख गरे।

संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले सहभागी पूर्वअध्यक्षहरुलाई अनुभव र सुझाव प्रस्तुत गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममार्फत प्राप्त सुझाव र अनुभवलाई आगामी योजना तथा कार्ययोजनामा समावेश गर्ने योजना रहेको बताइएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.