‘#बन्छ_नेपाल’ पुस्तक पढियो । यसका लेखक हुनुहुन्छ घनश्याम कोइराला । २६ मे २०२३ देखि १६ जुलाई २०२५ सम्म फेसबुकमा लेखिएका स्टाटसको सँगालो । आधुनिक प्रविधिको अत्यधिक सिर्जनशील प्रयोगको एक प्रचुर नमूना । यो पुस्तक पढेपछि यस्तो लेख्न मन लाग्यो :
यसमा के छैन ?
आवेग, घृणा र लोभको अभाव छ । आवेग, घृणा र लोभ भएका कन्टेन्टले मानिसको ध्यान तुरुन्तै खिच्छ । फेसबुक एल्गोरिदमले यस्तै सूचनालाई धेरैको ध्यान खिच्ने भएपछि स्वचालित प्रबन्धन गर्छ । भाइरल बनाउँछ । तर, त्यसले मानव समाजमा अराजकता, अस्थिरता, अपमान र आक्रामकता बढाउँछ । तर, कोइरालाका स्टाटस भाइरल हुनका लागि होइन, सकारात्मक सन्देश दिनका लागि केन्द्रित रहेछन् । धेरैले हेरुन् र लाइक, कमेन्ट र सेयर गरून् भनेर नभई जतिले बुझ्छ राम्रै बुझोस् भनेर लेखिएका रहेछन् । यसो हुँदा उहाँलाई फेसबुकले होइन, उहाँले फेसबुक चलाउनु भएको रहेछ ।
के छ त ?
यसमा विविधता छ । दर्शन छ । राजनीति छ । समाजशास्त्र छ । धर्म छ । संस्कृति छ । नैतिकताको पाठ छ । मानवीयताको आदर्श छ । दैनिक जीवन छ । जस्तै उहाँ लेख्नुहुन्छः
“जीवनसँग नजोडिएको विषय धर्म हुनै सक्दैन । प्रकृतिसँग मेल नखाने क्रियाकलाप संस्कृति हुनै सक्दैन । धर्म आधार हो, पृष्ठभूमि हो भने संस्कृति निरन्तर परिमार्जन-रूपान्तरणको शृङ्खला हो ….”
” जीवनको मूल्य नबुझ्नेहरू सभ्य हुँनै सक्दैनन् । अरूको जीवन नबुझ्नेले वास्तवमा आफ्नो पनि बुझेको हुँदैन …”
“विज्ञान भौतिक मात्रै हुँदैन । विज्ञानको कार्यक्षेत्र वस्तु-पदार्थमा मात्रै सीमित हुँदैन, यस्तो हुन्थ्यो भने मनोविज्ञान विज्ञानमा पर्ने थिएन …”
यस्ता तमाम सन्देश यो पुस्तकमा छन् । त्यसैले यो वृहत् सङ्कलन हो भन्न हिचकिचाउनु पर्ने रहेनछ ।
राम्रो पक्ष :
पाठकले छनौट गरेर आफूलाई रुचिको विषय पढ्न सक्छ । पढ्न निकै सजिलो छ । सरल र बोधगम्य छ । एक पटकमा एउटा पढ्छु भने पनि बढीमा एकदेखि दुई मिनेटमा एउटा स्टाटस पढेर सकिन्छ, एउटा पाठ सिकिन्छ । यसो हुँदा पाठकलाई पढ्दा मनोटोनस हुँदैन । निश्चित समयपछि पाठकको मन भड्किने स्वभावलाई यसले राम्रैसँग सम्बोधन गर्छ ।
सन्देश :
सामाजिक सञ्जाललाई दैनिक सिर्जनशील रूपमा उपयोग गरी सकारात्मक सन्देश दिन सकिन्छ । आफूलाई चिनौं । सत्यलाई बुझौँ । धैर्यवान बनौँ । विवेकी बनौँ ।
आफ्नो कर्म सबैले गरौँ । यस्तो सन्देश पाएँ मैले ।
सलाम छ लेखकलाई ।






