सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच आज गृह मन्त्रालयमा वार्ता हुँदै

Shares

काठमाडौं — सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच आज गृह मन्त्रालयमा वार्ता हुँदैछ।

वार्तामा दुर्गा प्रसाईं स्वयं सहभागी नहुने भए पनि, उनको तर्फबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापा मगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साहलगायत प्रतिनिधिहरू सहभागी हुनेछन्।

खतिवडाले अनलाइनखबरसँग भने, “हामी मन्त्रीस्तरीय वार्तामा सहभागी हुन गृह मन्त्रालय जाँदैछौं।”

सरकारले कात्तिक १८ गते प्रसाईंले नेतृत्व गरेको ‘नागरिक बचाउ महाअभियान’ कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो। खतिवडाका अनुसार दुर्गा प्रसाईं प्रधानमन्त्रीस्तरीय वार्तामा मात्र सहभागी हुनेछन्, मन्त्रीस्तरीय वार्तामा भने टोलीले प्रतिनिधित्व गर्नेछ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि आज प्रसाईं समूहसँग वार्ता हुने जानकारी दिएका छन्। वार्ताको सहजीकरण अधिवक्ता लवन न्यौपाने र विनोदमणि भट्टराईले गरिरहेका छन्।

आन्दोलनको तयारी र निगरानी

दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। गत चैत १५ मा पनि उनको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो, जसमा हिंसा, तोडफोड र आगजनीका घटना भएका थिए।

यसपटकको आन्दोलनका लागि प्रसाईंले नेपाली कांग्रेस (बीपी)सँग सहकार्य गरेका छन्। उनले कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा भएको कार्यक्रममा पनि आन्दोलनको तयारीबारे सार्वजनिक अभिव्यक्ति दिएका थिए।

सुरक्षा निकायका अधिकारीहरूले सम्भावित हिंसात्मक गतिविधि रोक्न प्रसाईं र उनको समूहमाथि निगरानी बढाइएको बताएका छन्।

यसअघि कात्तिक महिनामै काठमाडौं उपत्यकाका तीनै जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूबीच पनि प्रसाईंसम्बन्धी छलफल भएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.