रुपन्देही — नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका निवर्तमान महासचिव तथा अध्यक्षका उम्मेदवार सुमन पुरीले विगतमा पार्टी नेतृत्वको झोले र हनुमान बनेर देवत्वकरण गर्ने अभ्यासमा गल्ती भएको स्वीकार गरेका छन्।
नेकपा एमालेले केही समय अघि ‘म झोले’ अभियान चलाएको थियो, जसअन्तर्गत धेरै कार्यकर्ताले आफ्ना तस्बिरसहित ‘म झोले’ लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
पुरीले उक्त अभ्यास पार्टीको विचार र जनताको बहुदलीय जनवादको मार्गदर्शनसँग मेल नखाने भएको गम्भीर आत्मालोचना गर्दै अब त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पुरीले फेसबुकमार्फत लेखेका छन्, “हिजो मैले झोले, हनुमान बनेर देवत्वकरण गरेको गल्ती स्वीकार्छु। यो अभ्यास पार्टीको विचार र जबजको मार्गदर्शनसँग मेल खाँदैन भन्ने गम्भीर आत्मबोध भएको छ। अब त्यस्तो गल्ती कहिल्यै नगर्ने दृढ प्रतिवद्धता गर्दछु।”
उनले थपेका छन्, “गलतलाई गलत र सहीलाई सही भन्न सक्ने संस्कारलाई आत्मसात गर्दै समृद्ध नेपाल र समाजवाद उन्मुख राष्ट्र निर्माणमा आफूलाई समर्पित गर्नेछु।”
पोखरामा सम्पन्न राष्ट्रिय युवा संघको महाधिवेशनमा पुरीले पार्टी नेतृत्वको इच्छाविपरीत निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने अडान राखेका थिए। अध्यक्ष पदको प्रतिस्पर्धामा उनी क्षितिज थेवेसँग पराजित भए पनि पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन खेलेको भूमिका प्रशंसनीय रहेको छ।
विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका पुरी हाल पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्या भण्डारी पक्षमा खुलेका छन्।






