साउन २५, काठमाडौं / कैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते भएका हिंसात्मक घटना भएको ३६ घण्टा बितिसक्दा पनि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सकेको छैन । घटनापछि कैदीबन्दीहरूले थुनुवा कक्ष भित्रबाट ताला लगाएर कारागार पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिएका छन् र सुरक्षाकर्मी तथा कारागार प्रशासनका कर्मचारीलाई प्रवेश गर्न दिइरहेका छैनन् ।
यसका कारण कारागारभित्रको वास्तविक अवस्था बाहिर नआएको छ । मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार कैदीबन्दीहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणालाई मात्रै भेट्न अनुमति दिएका छन् । उनीहरूले गृह मन्त्रालय र कारागार विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएका छन् । प्रजिअ हमालले अहिलेसम्म सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न नपाएको पुष्टि गरेका छन् र दिउँसो मानवअधिकार आयोगको टोलीसँगै निरीक्षणमा जाने तयारी रहेको बताए । उनले कैदीबन्दीका आफन्तहरूले भेटघाट गरिरहेको पनि जानकारी दिएका छन् । कैदीबन्दीहरूले कारागारमा भइरहेका समस्याप्रति स्थानीय प्रशासनको बेवास्ता गरेको आरोप लगाएका छन् ।
१४ साउनमा कारागारमा रहेका ५९० कैदीबन्दीले मानवअधिकार आयोगलाई पत्र लेखेर आफ्नो असुरक्षित अवस्थाबारे जानकारी गराउँदै सुरक्षा व्यवस्थाको माग गरेका थिए । आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कारागार विभागलाई पत्राचार गरी सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको थियो । तर, गम्भीरता नलिइएकोले शुक्रबार भएको हिंसात्मक घटनामा एक कैदीबन्दीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । घटनामा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको पुष्टि भएको छ । घाइतेमध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अन्य घाइतेलाई सेती अस्पताल मातहतको कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । १५० जना क्षमताको कैलाली कारागारमा करिब सात सय कैदीबन्दी थुनिएका छन् ।






