शितगङ्गा (अर्घाखाँची): नेपालका कतिपय जिल्लाहरूभन्दा पनि ठूलो भौगोलिक क्षेत्रफल भएको अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर ११ ले नागरिकलाई सेवा दिनका लागि चौथो सेवा केन्द्र स्थापना गरेको छ। यस सेवा केन्द्रको स्थापनासँगै त्यस क्षेत्रका बासिन्दाले अब वडा कार्यालय पुग्न ५० किलोमिटरभन्दा बढीको दूरी छोट्याउन सक्ने भएका छन्।

१४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो विशाल वडामा सेवा प्रवाह सहज बनाउनका लागि दोबाटामा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो। वडाका पूर्वमा गुडरुङ खोला र पश्चिममा कुशुम खोला, रङ्सिङ खोला, सुरई खोला र बेलखोला लगायतका क्षेत्रहरू पर्दछन्।
नयाँ सेवा केन्द्रले खासगरी वडाको पश्चिमी भेगका धानखोला, भक्कुचोक, जाबुने, दोबाटा, फेदी, चावेनेटा, बेलदमार, बोक्से गाईघाई, ओखटे, चावदीप र खर्क लगायतका करिब १३५ घरपरिवारलाई प्रत्यक्ष लाभ पुग्ने बताइएको छ।
वडा अध्यक्ष नवराज भुसालका अनुसार, स्थानीय नागरिकहरूलाई उनीहरूकै टोलमा सेवा पुर्याउने उद्देश्यका साथ दोबाटाको श्री तारा ज्योति आधारभूत विद्यालयको खाली भवनमा सेवा केन्द्र स्थापना गरिएको हो। यसबाट नागरिकहरूको समय र पैसा दुवैको बचत हुने उहाँले बताउनुभयो।
यसअघि पनि वडा नम्बर ११ ले खयरभट्टी र टिक्करि कपिलवस्तुको सीमा क्षेत्रबाट सेवा दिँदै आएको थियो। अध्यक्ष भुसालले अपाङ्ग, अति अशक्त र ८४ वर्ष माथिका नागरिकहरूलाई घरमै पुगेर सेवा दिने गरिएको बताउनुभयो।
उहाँका अनुसार, अब गाउँ-गाउँमा सेवा पुर्याउनका लागि कर्मचारी, प्राविधिक र जनप्रतिनिधिहरूले समेत घरमै पुगेर सेवा दिने तयारी भइरहेको छ। यसले विकट क्षेत्रका नागरिकलाई सरकारी सेवा लिन सहज हुने समेत विश्वास गरिएको छ।






