२१ असोज, म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा गएको पहिरोका कारण बेनी–जोमसोम–कोरला सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। लगातारको वर्षासँगै सिरुवारी र खामभित्तामा भू-क्षय हुँदै सडक अवरुद्ध भएको हो।
यो सडक चीन र भारत जोड्ने रणनीतिक महत्वको कालीगण्डकी कोरिडोर अन्तर्गत पर्छ, जसले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्दछ।
कालीगण्डकी नदी किनारदेखि माझखर्कसम्मको जमिन चिरा परेर पहिरो सरेपछि सडक खण्ड साँघुरो र जोखिमपूर्ण बनेको छ। स्थानीय यातायात व्यवसायी भोजबहादुर थापाका अनुसार, सामान्य वर्षा हुँदा पनि ढुङ्गा खस्ने, बाटो हिलो हुने र दुर्घटना हुने सम्भावना बढेको छ।
“सवारी गुडिरहेका बेलामा माथिबाट ढुङ्गा खस्ने, बाटो चिप्लो हुने समस्या छ। यात्रु र चालक दुवै जोखिममा छन्,” — उनले बताए।
पहिरो करिब ८ सय मिटर उचाइबाट दुई सय मिटर चौडाइमा फैलिएको छ। पहिरोले माझखर्क बस्तीमा समेत जोखिम बढाएको छ। यही सडकबाट कोरला नाका हुँदै आयात–निर्यातका ठूला कन्टेनरहरू पनि आवतजावत गर्छन्।
रघुगङ्गा–१ का वडासदस्य बलमान गौचनले सिरुवारी खण्ड साँघुरो भएकाले दुईतर्फी सवारी चलाउन कठिन भएको जानकारी दिए।
सडक विभागको बेनी–जोमसोम–कोरला सडक आयोजनाले पहिरो नियन्त्रण र सडक खुलाउने काम जारी राखेको छ। योजनाका इञ्जिनियर विष्णु चापागाईंका अनुसार, डोजर र लोडर तयारी अवस्थामा राखी अवरोध हटाउने काम भइरहेको छ।
“वर्षा रोकिएपछि पहिरो पूर्ण रूपमा पन्छाएर दुईतर्फी सवारी सञ्चालन मिल्ने बनाइनेछ,” — चापागाईंले बताए।
साथै, चमेरे, बैसरी, गुइठेभिर, लाटाखोला र रुप्से क्षेत्रका पहिरो जोखिम न्यूनीकरण गर्नका लागि नयाँ सडक ढलानको ठेक्का सम्झौता प्रक्रियामा रहेको पनि उनले जानकारी दिए।






