३ भदौ, काठमाण्डौ- प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी दलहरूले बहुमतको आधारमा उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। उनीहरूले यस्तो कदम देशलाई एकात्मक शासनतर्फ धकेल्ने भन्दै सरकारलाई सचेत गराएका हुन्।
सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नेपालखबरलाई जानकारी दिँदै भने, ‘‘उपसभामुखलाई बिना कारण र बिना प्रमाण हटाउने प्रयास भयो भने सडकदेखि सदनसम्म सबै विपक्षी दल एक भएर प्रतिवाद गर्नेछन्।’’
उनका अनुसार सत्ता पक्षले बहुमतको आधारमा प्रमाणविहीन आरोप लगाएर पदमुक्त गर्न खोजे देशमा कुशासन सुरु हुने चेतावनी बैठकले दिएको छ। ‘‘यस्तो कदम उचित होइन, सरकारले यस्ता काममा नलागोस्,’’ यादवले थपे।
उपसभामुखविरुद्ध ठोस प्रमाण नभएको दाबी गर्दै यादवले प्रमाण बिना हटाउने कदम उठाइए विपक्षी दलहरू एकमत भएर प्रतिवाद गर्ने निर्णय भएको बताए। ‘‘सबै विपक्षी दल यस मुद्दामा सहमत छन्, आवश्यक परे सडक आन्दोलनसम्म जाने तयारी छ,’’ उनले भने।
यादवका अनुसार उपसभामुख रानामगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनुभएको छ, जसलाई सम्मान गर्नेहरूको संख्या ठूलो छ। ‘‘उहाँलाई हटाउन प्रमाण चाहिन्छ, त्यसैले सरकारलाई सचेत गराएका हौँ,’’ उनले जोड दिए।
माओवादी संसदीय दलको कार्यालयमा बसेको उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, रास्वपाबाट डोलप्रसाद अर्याल र सन्तोष परियार, राप्रपाबाट बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र शेरबहादुर कुवँर, आम जनता पार्टीका प्रभु साह र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव सहभागी थिए।






