नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनालबीच पार्टी विवादका बीच एक घण्टा लामो सम्वाद भए पनि कुनै ठोस निष्कर्ष निस्किएन।
२५ साउन,काठमाडौं
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच हालका आरोप–प्रत्यारोपपछि पार्टी नेताहरूको मध्यस्थतामा करिब एक घण्टा लामो सम्वाद भएको छ।
एकअर्कालाई पार्टी छोड्ने सुझावसम्म दिने स्तरमा पुगेको विवादपछि नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालको पहलमा शनिबार बिहान ९ बजे आलोकनगरस्थित केन्द्रीय कार्यालयमा छलफल आयोजना गरिएको हो।
छलफलमा दुवै नेताले आफ्नो भनाइ स्पष्ट पार्ने प्रयास गरे पनि ठोस निष्कर्षमा पुग्न सकेनन्। खनालले “विद्रोह पुष्टि गर्न नसकिएको कुरा नौलो नभएको” भन्दै आफ्नो पुरानो धारणा दोहोर्याएका थिए। तर, उनले अध्यक्ष नेपालको अघिल्लो अभिव्यक्तिप्रति असहमति जनाए।
अध्यक्ष नेपालले भने आफ्नो भनाइ “पार्टीबाट विदा गर्ने” भन्ने अर्थमा नभएको प्रष्ट्याए। तर खनालले पतञ्जली जग्गा प्रकरणमा अदालतमा मुद्दा रहेकाले नेपालले मार्ग प्रशस्त गर्दै कार्यवाहक नेतृत्व दिनुपर्ने अडान दोहोर्याए।
नेपालले विगतको सम्बन्ध र लामो राजनीतिक यात्राको प्रसङ्ग उठाउँदै छलफललाई सौहार्दपूर्ण ढंगले अगाडि बढाउने संकेत गरे पनि खनालको अडान यथावत् रह्यो। अन्ततः कुनै निष्कर्ष ननिकाली अध्यक्ष नेपाल पूर्वनिर्धारित कार्यक्रमका लागि तराई प्रस्थान गरे।






