गृहमन्त्री लेखक : नेपालको संविधानले दोहोरो नागरिकताको व्यवस्था गरेको छैन

Shares

२९ साउन, काठमाडौं – गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको कुनै व्यवस्था नगरेको स्पष्ट पारेका छन्।

बिहीबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले गोरखा भर्तीका सन्तानले वंशजको आधारमा नेपालको नागरिकता पाउनुपर्ने माग भए पनि सरकारले दुई देशको नागरिकता दिने व्यवस्था गर्न नसक्ने बताए।

गृहमन्त्री लेखकका अनुसार, कुनै नेपाली नागरिकले अर्को देशको नागरिकता लिनेबित्तिकै नेपालको नागरिकता स्वतः समाप्त हुन्छ। उनले भने, “यदि अर्को देशको नागरिकता नेपालीले लिन्छ भने नेपालको नागरिकता समाप्त हुन्छ। पुनः लिन चाहन्छ भने अर्को देशको नागरिकता त्याग्नुपर्छ। नेपालले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन।”

उनले विदेशको नागरिकता लिएकाले पुनः नेपाली बन्न चाहेको खण्डमा त्यस देशको नागरिकता छाडेको प्रमाणपत्र पेश गरेपछि सोही दिनदेखि नेपालको नागरिकता कायम हुने बताए।

गृहमन्त्री लेखकले दोहोरो नागरिकता दिनुपर्ने हो भने संविधान संशोधनमार्फत मात्र सम्भव हुने पनि प्रष्ट पारे।

बैठकमा उनले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को उद्देश्यबारे पनि जानकारी दिँदै आमाको नामबाट छोराछोरीलाई सजिलै नागरिकता दिन सक्ने प्रावधान राखिएको उल्लेख गरे।

उनले थपे, “आमाले घोषणा गरेर ‘यो मेरो सन्तान हो’ भनेको खण्डमा नागरिकता दिनुपर्छ। आमाको नागरिकता ठिक छ भने त्यसको आधारमा स्वघोषणासहित नागरिकता दिने व्यवस्था गरौँ।”

गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिने प्रावधानलाई अझ स्पष्ट बनाउन सांसदहरूको सुझाव पनि माग गरे।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.