१ भदौ,काठमाडौं – मुलुकमा यस वर्ष १ भदौसम्म ९४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। यो परिमाण गत वर्ष सोही अवधिको तुलनामा करिब ४ प्रतिशत कम हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्यांक अनुसार, १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १ भदौसम्म १२ लाख ९५ हजार ८ सय ८७ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ। २ भदौ २०८१ मा भने सोही अवधिमा ९८.४४ प्रतिशत रोपाइँ भएको थियो।
प्रदेशगत विवरण अनुसार, कोशी प्रदेशमा २५ साउनसम्म ९४.४२ प्रतिशत रोपाइँ भएको छ। यहाँ २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ६० हजार ९ सय ६४ हेक्टरमा रोपाइँ भएको छ, जुन गत वर्षको ९९ प्रतिशतभन्दा कम हो।
मधेश प्रदेशमा ३० साउनसम्म ८६.३५ प्रतिशत धान रोपाइँ भएको छ। ३ लाख ७० हजार १ सय ४५ हेक्टर क्षेत्रफलमध्ये ३ लाख १९ हजार ६ सय २६ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, गत वर्ष ९७ प्रतिशत रोपाइँ भएको थियो।
बागमती प्रदेशमा २५ साउनसम्म ९७.२७ प्रतिशत रोपाइँ भएको छ। यहाँ १ लाख १५ हजार ६ सय २१ हेक्टर क्षेत्रफलमध्ये १ लाख १२ हजार ४ सय ५९ हेक्टरमा रोपाइँ सकिएको छ, गत वर्ष ९९ प्रतिशत रोपाइँ भएको थियो।
गण्डकी प्रदेशमा १ भदौसम्म ९४.८३ प्रतिशत रोपाइँ भएको छ। ९४ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ३ सय ११ हेक्टरमा रोपाइँ पूरा भएको छ, जुन गत वर्षको ९८ प्रतिशतभन्दा कम हो।
लुम्बिनी प्रदेशमा २५ साउनसम्म ९८.०७ प्रतिशत रोपाइँ भएको छ। ३ लाख २ हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमध्ये २ लाख ९७ हजार १ सय ३ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ। गत वर्ष यसै अवधिमा ९८ प्रतिशत रोपाइँ भएको थियो।
कर्णाली प्रदेशमा १ भदौसम्म ९९.३४ प्रतिशत रोपाइँ भएको छ। ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ४० हजार ७ सय ७० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, गत वर्ष ९९ प्रतिशत रोपाइँ भएको थियो।
सुदूरपश्चिम प्रदेशमा १८ साउनसम्म ९९.७२ प्रतिशत रोपाइँ भएको छ। यहाँ १ लाख ७६ हजार १ सय ५१ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्ष यसै अवधिमा शतप्रतिशत रोपाइँ भएको थियो।
कुल मिलाएर, मुलुकभर धान रोपाइँ गत वर्षको तुलनामा सामान्यतया केही कम देखिएको छ।






