कोशी, लुम्बिनी, सुदूरपश्चिमको तराई र पहाडी भू-भागमा ठूलो वर्षा, अन्य प्रदेशमा मध्यम पानीको पूर्वानुमान।
काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भागमा ठूलो वर्षा हुने सम्भावना रहेको चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा एक/दुई स्थानमा ठूलो पानी पर्ने संभावना छ।
त्यसका साथै, पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेशसहितका तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने सम्भावना पनि रहेको छ।
राति, कोशी प्रदेशको पहाडी भू–भाग र मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान छ। यस्तै, मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा मध्यम वर्षा हुने संभावना छ।
महाशाखाले आज बिहान कञ्चनपुर, बर्दिया र सर्लाहीमा ठूलो पानी परेको जानकारी दिएको छ। वर्षासँगै बाढी–पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।






