२८ साउन,काठमाडौं —
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा ठोस र दीर्घकालीन परिवर्तन ल्याउन सरकारका सबै मन्त्रालय र मातहतका निकायका प्रमुखलाई सक्रिय र परिणाममुखी भएर काम गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको २०८१/८२ आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले सरकार केवल सञ्चालन मात्र नभई परिवर्तनका लागि गतिशील हुनुपर्ने आवश्यकता औंल्याए।
ओलीले सुशासन, पारदर्शिता र स्वच्छता क्षेत्रमा ठूला सुधार आवश्यक रहेको उल्लेख गर्दै जनतालाई प्रभावकारी सेवा र सहुलियत दिन राज्यका संरचनाले तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए।
उनले विकास कार्यमा अवरोध हटाउन, प्रविधि र दक्षताको प्रभावकारी उपयोग गर्न र दिगो विकासका लक्ष्य पूरा गर्न मन्त्रालयबीचको समन्वय मजबुत बनाउन आग्रह गरे।
प्रधानमन्त्री ओलीका अनुसार नेपाललाई विकासशील मुलुकको श्रेणीमा स्तरोन्नति गर्न र सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टबाट हटाउन स्पष्ट जिम्मेवारीसहितको कार्यान्वयनमा तदारुकता आवश्यक छ।






