२८ साउन , काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक स्थायी बसोबास (पीआर) त्यागेर नेपाल फर्कने नागरिकहरूलाई विना कुनै सर्त खुलेर स्वागत गर्नुपर्ने बताएका छन्।
बुधबार बसेको संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले विदेशको पीआर त्याग्दै नेपाल फर्कन चाहने योग्य तथा दक्ष जनशक्तिलाई देशले प्रोत्साहित गर्नुपर्ने बताए। उनले भने, “विदेशमा पीआर भएका मानिसहरू सबै कुरा जोखिममा राखेर नेपाल फर्कने मनस्थिति बनाउँछन् भने उनीहरूलाई हौसला दिनुपर्छ, स्वागत गर्नुपर्छ। योग्य मान्छेहरू जोखिम मोलेर आउँछन्, तर हामीले तिनलाई उल्टै निरुत्साहित बनाइरहेका छौं।”
डा. महतले अहिलेको व्यवस्थाअनुसार सार्वजनिक पदमा नियुक्ति पाउन तीन महिना अगावै पीआर त्याग्नुपर्ने नियमलाई अव्यवहारिक र ‘बकवास’ भएको टिप्पणी गरे। उनले उदाहरण दिँदै भने, “इङ्ग्ल्याण्डमा क्यानाडाको प्रधानमन्त्री बन्न सक्छन्, भारतमा रघुराम राजनजस्तो व्यक्ति अमेरिकी पीआरसहित गभर्नर बन्न सक्छन्। उनीहरूले पछि पुनः अमेरिका फर्किएर अध्यापन गरे। पीआर कुनै राजनीतिक हैसियत होइन, त्यो त बस त्यहाँ काम गर्न पाइने सुविधा हो।”
उनका अनुसार पीआर भनेको नागरिकता होइन, त्यसले त्यहाँको नागरिक बन्न अनुमति दिंदैन र राजनीतिक अधिकार पनि हुँदैन। तर नेपालमा भने यसलाई अतिशयोक्तिमा लिएर ठूला समस्या झैं प्रस्तुत गरिन्छ, जुन व्यवहारिक होइन।
डा. महतले दक्ष जनशक्तिको भित्र्याउने प्रक्रियामा लचिलोपन अपनाउन सरकारलाई सुझाव दिएका छन्।






