२९ साउन, काठमाडौं । रुपन्देही कारागार कार्यालयले संगठित सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको बन्दी कोठामा झ्यालको प्लाइउड हटाएर जाली जडान गरिएको जानकारी दिएको छ।
कारागारमा रहेका बन्दीहरूलाई उपलब्ध सेवा सुविधाबारे निरन्तर सञ्चारमाध्यममा समाचार प्रकाशित भइरहेका सन्दर्भमा विज्ञप्ति जारी गर्दै कारागार प्रशासनले यो जानकारी सार्वजनिक गरेको हो। कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेको झ्यालमा पहिले प्लाइउड राखिएको थियो, जसलाई हटाएर हाल जाली जडान गरिएको छ।
लामिछानेलाई सुरक्षालाई मध्यनजर गर्दै सुरुदेखि नै छुट्टै बन्दीगृहमा राखिएको र सो कोठामा छुट्टै शौचालयको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ। साथै, प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट सुविधा निरन्तर कायम रहेको पनि कारागारले स्पष्ट पारेको छ।
हाल २५० जनाको क्षमता भएको रुपन्देही कारागारमा ६४० कैदीबन्दी रहेका छन्। क्षमताभन्दा तीन गुणा बढी बन्दी भए पनि उपलब्ध स्रोत साधन प्रयोग गरेर कानुन बमोजिम सेवा सुविधा प्रदान भइरहेको कारागार प्रशासनले जनाएको छ।







