बुटवल ,अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले ‘उद्यमशीलता र स्वरोजगार : समृद्ध नेपालको आधार’ शीर्षकको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षतामा मिति २०८३ श्रावण २४ गते आइतबार विद्यालयको सेमिनार हलमा सम्पन्न प्रतियोगितात्मक कार्यक्रममा माया उपाध्यायले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल, विज्ञान संयोजक भरतबहादु के.सी.,संस्थापक मोहन खनाल क्षेत्रीलगायत सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । धर्मराज पन्थी, गोपाल पन्थी र लेखनाथ पौडेल निर्णायक रहनुभएको कार्यक्रमको सञ्चालन नेपाली विषयका विभागीय प्रमुख झविन्द्रप्रसाद मरासिनीले गर्नुभएको थियो।

विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४६ जना विद्यार्थीले सहभागिता जनाएका थिए। सहभागी विद्यार्थीहरूले उद्यमशीलता र स्वरोजगारलाई नेपालको आर्थिक विकास, आत्मनिर्भरता तथा समृद्धिको आधारका रूपमा प्रस्तुत गर्दै आफ्ना विचार, तर्क र दृष्टिकोण प्रस्तुत गरेका थिए।
प्रतियोगितामा प्रथम स्थान श्रीषा न्यौपाने, द्वितीय स्थान परिसा गौतम, तृतीय स्थान मोनिका खरेल, रोहन खनाल तथा सान्त्वना स्थान विवेचना प्रसाईँ, रविरत्न गौडेल तथा हिमाल कँडेलले प्राप्त गरेका थिए।
कार्यक्रममा प्राचार्य दिनेश भुसालले उद्यमशीलता र स्वरोजगारले युवालाई आत्मनिर्भर बनाउन, राष्ट्रलाई उत्पादनशील बनाउन तथा समाजलाई आर्थिक रूपमा सबल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको थियो।
प्रतियोगिताले विद्यार्थीहरूमा आत्मनिर्भरता, सिर्जनशीलता, तर्कशक्ति, अभिव्यक्ति क्षमता तथा उद्यमशील सोच विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।





