बुटवल
अक्सफोर्ड माध्यमिक विद्यालयमा “छुवाछूत तथा सामाजिक विभेद अन्त्य” भन्ने मूल विषयवस्तुमा आधारित नमुना न्यायपालिका कार्यक्रम सम्पन्न भएको छ।सामाजिक अध्ययन विषयअन्तर्गत अध्ययन गरिएका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने, छुवाछूतजस्ता सामाजिक कुरीतिविरुद्ध जनचेतना फैलाउने र विद्यार्थीहरूमा कानुनी सचेतना एवं सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा विद्यार्थीहरूले न्यायाधीश, बादी तथा प्रतिवादी वकिल, प्रहरी, अभियुक्त र साक्षी लगायतका विभिन्न भूमिकाहरू निर्वाह गर्दै अदालतको वास्तविक न्यायिक प्रक्रियाको जीवन्त अभ्यास प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको तार्किक प्रस्तुति, आत्मविश्वासपूर्ण अभिनय तथा सक्रिय सहभागिताले कार्यक्रमलाई शिक्षामूलक र प्रभावकारी बनाएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्य तथा विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन शिक्षक सिद्धार्थ कँडेलले गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसालले शिक्षा केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नरही विद्यार्थीलाई असल, जिम्मेवार र सचेत नागरिक बनाउनु नै शिक्षाको वास्तविक उद्देश्य रहेको बताउनुभयो। यस्ता व्यवहारमुखी कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, अभिव्यक्ति क्षमता, कानुनी चेतना र तार्किक सोचको विकासमा मद्दत पुग्ने भन्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका सहभागी, शिक्षक तथा अतिथिहरूले यस्ता अभ्यासले विद्यार्थीहरूलाई कानुनी व्यवस्था र सामाजिक उत्तरदायित्वबारे व्यावहारिक ज्ञान प्रदान गर्दै विभेदरहित र समतामूलक समाज निर्माणमा सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गरेका थिए।





