बुटवल, २०८२ भदौ १६ — बुटवलको अक्सफोर्ड माविमा आज नेपाली विभागको आयोजनामा ‘प्रतिभा पलायनः चुनौती र समाधान’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका ३६ जना विद्यार्थीको सहभागिता रहेको यस प्रतियोगितामा सहभागीहरूले नेपालबाट भइरहेको प्रतिभा पलायनको गम्भीर विषयमा गहन विचारहरू प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूले आफ्नो प्रस्तुतिमा प्रतिभा पलायनका मुख्य कारणहरू जस्तै; रोजगारीको अभाव, राम्रो शिक्षाको खोजी, अस्थिर राजनीतिक वातावरण र अवसरहरूको कमीलाई औंल्याएका थिए। साथै, उनीहरूले यस समस्याको समाधानका लागि सरकारले स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने, शैक्षिक गुणस्तर बढाउनुपर्ने र उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्ने जस्ता उपायहरूमाथि जोड दिएका थिए। उनीहरूको प्रस्तुतिमा देशप्रेम, भविष्यप्रतिको चिन्ता र आशाका भावहरू स्पष्ट झल्किएका थिए।
विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षतामा भएको यस कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, विद्यालयका प्राध्यापक सुमन भुसाल, र व्यवस्थापन संकायका इन्चार्ज बालकृष्ण प्रोख्रेलको विशिष्ट आतिथ्यता रहेको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा प्राध्यापक गोपाल पन्थी, लक्ष्मीनाथ मरासिनी, र हिमलाल न्यौपाने हुनुहुन्थ्यो। उहाँहरूले विद्यार्थीहरूको प्रस्तुतिलाई विषयवस्तुको गहिराइ, तार्किक प्रस्तुति, भाषा शैली र आत्मविश्वासका आधारमा मूल्याङ्कन गर्नुभएको थियो। निर्णायकहरूले विद्यार्थीहरूको बौद्धिकता र देशप्रतिको चिन्तनको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीमा सार्वजनिक रूपमा बोल्ने कलाको विकास गराउनुका साथै सामाजिक विषयवस्तुमाथि चिन्तन गर्न पनि प्रेरित गर्ने बताउनुभयो।
प्रतिस्पर्धाको अन्त्यमा, विवेचना प्रसाई प्रथम, श्रीषा न्यौपाने द्वितीय र मोनिका खरेल तृतीय स्थान प्राप्त गर्न सफल भए। त्यसैगरी, प्रतिक भण्डारीले सान्त्वना स्थान प्राप्त गरे। विजेता विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन प्राध्यापक झविन्द्र मरासिनीले गर्नुभएको थियो। कार्यक्रमको समापनमा बोल्दै प्राचार्य दिनेश भुसालले विद्यार्थीहरूले यस प्रतियोगितामा प्रस्तुत गरेका विचारहरूबाट विद्यालय परिवारलाई पनि थप प्रेरणा मिलेको बताउनुभयो। साथै, प्राध्यापक सुमन भुसालले विद्यार्थीहरूलाई पढाइमा मात्र नभई यस्ता अतिरिक्त क्रियाकलापमा पनि सक्रिय सहभागिता जनाउन प्रोत्साहन गर्नुभयो।साथै
यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो विचार सार्वजनिक रूपमा व्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै देशले भोगिरहेको एक महत्त्वपूर्ण चुनौतीबारे चिन्तन गर्ने प्लेटफर्म पनि उपलब्ध गराएको बताउनुभयो






