बुटवल, १५ कात्तिक।
नेपाल नाट्य प्रतिष्ठान, लुम्बिनी प्रदेशको प्रथम अधिवेशन शनिबार रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा नयाँ प्रादेशिक कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्य, नेपाल नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेल तथा प्रवासी एकता मञ्च (युएसए) का शङ्कर पन्तको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नाट्य क्षेत्रका अग्रज सल्लाहकार ऋषि आजादको पनि विशिष्ट उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुआत गर्दै उपाध्यक्ष डा. प्रेमप्रसाद तिवारीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो। उहाँले स्वागत मन्तव्यका क्रममा लुम्बिनी प्रदेशमा नाटक तथा रङ्गमञ्चको वर्तमान अवस्था, रङ्गकर्मीहरूले भोग्नुपरेका चुनौती र आगामी दिनमा यसको प्रवर्द्धनका सम्भावनाबारे प्रकाश पार्नुभएको थियो।
सोही समारोहका बिच ‘लुम्बिनी नाट्यसमालोचना’ नामक पुस्तकको विमोचन गरियो। विमोचित कृतिको समीक्षा गर्दै समीक्षक प्रा. डा. हिरण्यलाल ज्ञवालीले पुस्तकले प्रदेशको नाट्य इतिहास र समालोचनात्मक चेतलाई नयाँ उचाइ दिने समेत बताउनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि एवं केन्द्रीय अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलले नाटक समाज रूपान्तरण र चेतना अभिवृद्धिको सशक्त माध्यम भएको उल्लेख गर्दै प्रादेशिक नाट्य गतिविधिलाई केन्द्रीय तहबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै, प्रमुख अतिथि नगरप्रमुख खेलराज पाण्डेले स्थानीय कला, साहित्य र रङ्गमञ्चको विकासका लागि बुटवल उपमहानगरपालिका सधैँ सकारात्मक र सहयोगी रहने बताउनुभयो।

अधिवेशनका अवसरमा प्रदेशका विभिन्न जिल्लाबाट नाटक विधामा निरन्तर क्रियाशील एवं विशिष्ट योगदान पुर्याउँदै आएका नाट्यकर्मीहरूलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा यदुनाथ पाण्डे, रूपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्ण पराजुली तथा वरिष्ठ साहित्यकार वनमाली निराकारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्ष: डा. नारायणप्रसाद पन्थ,उपाध्यक्ष: डा. प्रेमप्रसाद तिवारी,महासचिव: डिल्लीनारायण पाण्डेय,सचिव: भावना खनाल,सहसचिव: प्रकाश सुवेदी,कोषाध्यक्ष: मनिष पन्त,सहकोषाध्यक्ष: हेमराज भुसाल,सदस्यहरूमा सुरेश सेन्चुरी, राजेन्द्र कुँवर, बाबुराम घिमिरे, तिलक लामिछाने, पुष्कर रेग्मी ‘अथक’, गणेश भण्डारी, लोकराज पोखरेल पराजुली, रमेश अर्याल, केशव शर्मा, धनिराम थारु, सुमन थापा, दया दर्लामी, विजय बस्याल, पुरुषोत्तम भण्डारी, देवकला वली, हिरा सापकोटा, विजय पोखरेल र शिवप्रसाद अर्याललाई सर्वसहमत रूपमा निर्वाचित गरेको छ।कार्यक्रमको सञ्चालन सचिव भावना खनालले गर्नुभएको थियो ।





