बुटवल, २९ वैशाख ।
बुटवल–८, रुपन्देहीमा रहेको प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड सेकेन्डरी स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा ऐतिहासिक सफलता प्राप्त गरेको छ। विद्यालयका ११ जना विद्यार्थीहरूले ४.० जीपीए हासिल गर्दै विद्यालयको गरिमा बढाएका हुन्।
विद्यालय प्रशासनका अनुसार यसरी शतप्रतिशत जीपीए ल्याउने विद्यार्थीहरूमा गरिमा अधिकारी, कृष्टिना पौडेल, नियोन बन्जाडे, ओजस्वी पौडेल, प्राञ्जल भण्डारी, प्रतिज्ञा कोइराला, सक्षम श्रेष्ठ, सलिस के.सी., सायन भट्टचार्य , शिशिर बेलबासे र शिवम खड्का रहेका छन्।जम्मा १४३ जना विद्यार्थीले परीक्षा दिएका परीक्षार्थीहरूमध्ये ११ जना जि.पि.ए. ४.०० , ३.६० जि.पि.ए. भन्दा माथि ७२ जना ,३.२ जि.पि.ए भन्दा माथि ५५ जना तथा ३.१३ जि.पि.ए भन्दा माथि ४ जना गरी उत्कृष्ट नतिजा हासिल गरेको छ।
“शिक्षामा उत्कृष्टता” (Education for Excellence) भन्ने मूल नाराका साथ अगाडि बढेको यस विद्यालयले उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। ११ जना विद्यार्थीले एकैसाथ ४.० जीपीए ल्याउनुले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको मेहनतलाई पुनः पुष्टि गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो ।
रुपन्देही जिल्लाकै शैक्षिक केन्द्रको रूपमा स्थापित अक्सफोर्डले यो नतिजासँगै स्थानीय स्तरमा आफ्नो शैक्षिक साखलाई थप मजबुत बनाएको र कक्षा ११ को भर्नाको लागि अभिभावक तथा विद्यार्थीहरूको चाप बढन लागेको प्राध्यापक सुमन भुसालले बताउनुभयो।





