२८ कात्तिक, अर्घाखाँची – सन्धिखर्क नगरकमिटीको आयोजनामा नेकपा एमालेको प्रशिक्षण कार्यक्रम आज सन्धिखर्कमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली हुनुहुन्थ्यो। प्रशिक्षण कार्यक्रम संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र कार्यकर्ताको क्षमता अभिवृद्धिमा केन्द्रित रहेको थियो, जसमा नगरका सबै वडाबाट सक्रिय कार्यकर्ताहरूले सहभागिता जनाएका थिए।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य नरेन्द्रकुमार क्षेत्री र जनार्दन खनाल तथा जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालले पार्टीको समसामयिक अवस्था, संगठनात्मक नीति र आगामी योजनाबारे प्रशिक्षणमूलक निर्देशन प्रदान गर्नुभयो।
त्यस्तै, अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य बिजुला रायमाझीले संगठनमा महिलाको भूमिका, नेतृत्व विकास र महिला सहभागिता विस्तारबारे आफ्नो धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम नगर कमिटी अध्यक्ष कुशल भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य नगर उपाध्यक्ष नारायण खड्काले राख्नुभयो भने कार्यक्रम संचालन नगर सचिव तुल्सी रायमाझीले गर्नुभयो।
प्रशिक्षण कार्यक्रममा सहभागी कार्यकर्ताहरूले पार्टी संगठन सुदृढीकरणका लागि यस प्रकारका कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।






