बुटवल । क्रिकेट संघ रूपन्देहीको पाँचौं अधिवेशनबाट चयन हुने नेतृत्वका लागि पूर्व क्रिकेटर शक्ति गौचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार भैरहवामा आफ्नो मातृ क्लब लुम्बिनी खुकुरी क्लबको आयोजनामा पत्रकार सम्मेलन गरी गौचनले अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराएका हुन् ।
यही जेठ २५ गते भैरहवामा संघको अधिवेशन हुंदैछ । हालका अध्यक्ष हरिबहादुर थापाले चौथो अधिवेशनमै पाचौं अधिवेशनमा गौचनलाई अध्यक्ष बनाउने सहमति गरेपनि अहिले तोडेर पुनः उम्मेदवारी घोषणा गरेपछि आफूले पनि औपचारिकरुपमा उम्मेदवारी दिने घोषणा गर्नुपरेको गौचनले बताए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व स्पिनर गौचनले क्रिकेटको उर्बर भूमि रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना र ग्रासरुटबाटै क्रिकेट खेललाई अगाडि बढाई जिल्लाको क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित संघको नेतृत्वमा आउन चाहेको बताए ।
जुनियर लेबलमा क्रिकेटका लागि पूर्वाधारमा धेरै काम गर्नुपर्ने देखिएको बताउँदै आफू त्यसमा लाग्ने गौचनको भनाइ छ । आफू निर्वाचित भएमा आगामी ४ वर्षभित्र जिल्लाका ६ वटै नगरमा क्रिेट खेल मैदानलाई पूर्णता दिई रूपन्देहीलाई क्रिकेटको हबको रूपमा विकास गर्ने गौचनले प्रतिबद्धता जनाए ।





