हामी वन तथा वातावरण मन्त्रालय हेटौंडाको बैठक हलमा जम्मा भएका थियौं । मन्त्रालयको कर्मचारी हुनाले यस्ता मीटिङमा त नियमित भाग लिइन्थ्यो नै तर यो पटक हामी थोरै फरक र उत्सुकता सहितको सन्दर्भमा जुटेका थियौं । प्रसंग थियो, मन्क्रालयको स्वीकृत वार्षिक कार्यत्रम जलवायु परिवर्तनका लागि च्छो–रोल्पा संवादको तयारी ।
यो संवादको लागि गौरीशंकर गाउँपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना सह–आयोजक थिए भने अन्य केही गैरसरकारी संस्थाका प्रतिनिधि पनि सो बैठकमा उपस्थित थिए । बैठकले अन्य विषयका साथै संवाद कार्यक्रम आयोजना अगावै एकपटक च्छो–रोल्पा तालको अवलोकन भ्रमण गर्ने निर्णय गर्यो ।
यो विषयले मलाई सबैभन्दा बढी तरंगित बनायो । मनमा अनायास आयो आहा ! यो भ्रमणमा जान पाए त क्या जाति हुन्थ्यो ! तर लगत्तै सम्झें घरमा सानो केटो र छोरीको व्यवस्थापन अनि च्छो–रोल्पाको उचाइ । बर्दियामा जन्मिएर चुरेको सानो उकालो चढ्दा पनि हैरान हुने मलाई यसको उचाइले अत्याउने त भयो नै । तर जहाँ इच्छा त्यहाँ उपाय भने झैं घरका केटाकेटीको व्यवस्थापन घरमै मिलिहाल्छ नि ! उकालोको कुरा म जसरी मिलाउँछु भन्दै कल्पनामा डुबुल्की लगाए ।
यही डुबुल्कीसँगै छलफलमा भाग लिंदै गर्दा मेरो मानसपटलमा भने त्यो सुन्दर ठाउँको आकृति बनिरहेको थियो । छलफल नसकिंदै म च्छो–रोल्पा हिमतालमा पुगिसकेकी थिएँ । छलफल पनि सकियो । च्छो–रोल्पा संवाद कार्यक्रमको कार्यान्वयन खाका पनि बन्यो । मेरो कल्पना जस्तै त्यो कार्यक्रम खाकाभिक्र सो कार्यत्रम सञ्चालनको पूर्व तयारी स्थलगत निरीक्षणको लागि जाने व्यक्तिहरूको नाममध्ये मेरो नाम समेत देख्दा मेरो खुशीको सीमा नै रहेन ।
घुम्न, रमाइलो गर्न पाउँदा औधी खुशी हुने म बरु अरू बेलाभन्दा फरक किसिमको घुमाइमा निस्किंदै थिएँ, त्यो हो च्छो–रोल्पा पदयात्रा । हामी एघार जनाको समूह रमाइलो मान्दै उत्साहित हुँदै २०८२ साल वैशाख २८ गते बिहान ६ बजे जोस–जाँगर र साहस बोकी काठमाडौंबाट दोलखातिर लाग्यौं ।
एकाबिहानै, सल्लेरी सुसेल्दै निस्केको चिसो बतास, हरियालीले ढाकेको डाँडाकाँडा, आकाशलाई लाली थप्दै उचाइमा चढ्दै गरेको सूर्य नियाल्दै कतिबेला भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक हुँदै दोलखा पुग्यौं पत्तै भएन । मेरो लागि म पुगेका जिल्लाहरूको सूचीमा थपिएको एक जिल्ला थियो दोलखा ।






