बुटवल, ८ वैशाख ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा अवस्थित अपाङ्ग आश्रममा आश्रित व्यक्तित्वहरूका लागि ‘सहकार्य-२०८३’ कार्यक्रम एक विशेष समारोहका बिच सम्पन्न भएको छ। होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयको संरक्षकत्वमा रहेको इन्टर्याक्ट क्लब अफ होराइजन गौतम बुद्ध मा.वि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा आश्रममा रहेका ४० जना आश्रितहरूलाई पोषणयुक्त खाना खुवाउनुका साथै चामल, दाल, तेल लगायतका अत्यावश्यक खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डा. मुरारि पराजुलीले आश्रमको मानवीय सेवाको प्रशंसा गर्दै भन्नुभयो, “शारीरिक रूपमा अशक्त र असहाय व्यक्तिहरूको सेवा नै वास्तविक धर्म हो। राज्यको आँखा पुग्न नसकेका यस्ता ठाउँमा युवा विद्यार्थीहरूले गरेको यो सहकार्यले समाजमा सकारात्मक ऊर्जा र मानवीय संवेदना जीवित रहेको सन्देश दिएको छ।”

वि.सं. २०६८ सालमा १२ जनाबाट सेवा सुरु गरिएको यस आश्रमले हाल ४० जनालाई आश्रय दिइरहेको छ। आश्रमका सञ्चालक लोक बहादुर थापाले अहिलेसम्म सरकारी निकायबाट कुनै सहयोग प्राप्त नभए पनि विभिन्न सामाजिक संघ-संस्था र मनकारी व्यक्तिहरूकै सहयोगले आश्रम टिकिरहेको बताउँदै इन्टर्याक्ट क्लबको पहलप्रति आभार प्रकट गर्नुभयो।
इन्टर्याक्ट क्लबका अध्यक्ष सुमित भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथि उपप्राचार्य इन्द्र प्रसाद भुसाल र रूद्ध भुसाल, तथा अतिथिहरू प्राध्यापक कृष्णप्रसाद पाण्डे, यमलाल भुसाल र भुवन भुसाल लगायतको उपस्थिति रहेको थियो। इन्टर्याक्ट क्लबकी सचिव कृष्टिना सापकोटाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वक्ताहरूले समाजका पिछडिएका वर्गलाई मूलधारमा ल्याउन सबैको सामूहिक प्रयत्न आवश्यक रहेकोमा जोड दिनुभयो। रोटरी इन्टरनेशनल र इन्टर्याक्ट डिस्ट्रिक्ट ३२९२ सँग आबद्ध यस क्लबको यो सक्रियताले आश्रममा नयाँ आशा र उत्साह जगाएको समेत सञ्चालक लोक बहादुर थापाले बताउनुभयो ।





