जेन जी पुस्ताः प्रविधिमा सजग, समाजमा अवसर र चुनौती -घनश्याम कोइराला

"जेन जेड पुस्ता प्रविधिमैत्री र सामाजिक आन्दोलनमा सक्रिय"
Shares

जेन जी पुस्ता  प्रविधिमैत्री, छिटो प्रतिक्रिया दिने तर उपभोगतर्फ बढी आकर्षित पुस्ता हो। भावुक तर भावनाप्रति उदासीन, सजिलै प्रभावित हुने यिनको सक्रियता समाजका लागि अवसर र चुनौती दुवै हो।

‘जेन जी’ भन्ने शब्द नेपाली समाजमा अझै अपरिचित लाग्छ। तर यसको दायरामा आउने पुस्ता भने हाम्रो वरिपरिकै छ। सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवापुस्तालाई संसारभर ‘जेन जी’ वा ‘Generation Z’ भनेर चिनिन्छ। मिलेनियल पुस्तापछि आएको यो पुस्ता विज्ञान प्रविधि, सूचना प्रवाह, डिजिटल जीवनशैली र सामाजिक सञ्जालसँग गहिरो रूपमा गाँसिएको छ।

जेन जी पुस्ता त्यस्तो समयमा जन्मिएको हो, जब मोबाइल, कम्प्युटर, इन्टरनेट, सामाजिक सञ्जाल र सूचना प्रविधि तीव्र गतिमा विस्तार भइरहेको थियो। यस कारण यो पुस्ताले प्रविधिलाई मात्र सिकेन, बरु प्रविधिमै जन्मिएको र हुर्किएको पुस्ता बन्यो। छोटकरीमा भन्ने हो भने यो पुस्ताले ‘डिजिटल अफिस’ होइन, ‘डिजिटल जीवन’ अनुभव गरेको छ। यो पुस्ता छिटो बुझ्ने, छिटो प्रतिक्रिया दिने, छिटो प्रभावित हुने र छिट्टै निष्कर्ष निकाल्ने प्रवृत्तिका कारण परिचित छ। टिकटक, इन्स्टाग्राम, फेसबुकजस्ता प्लेटफर्ममा छोटकरी जानकारी, छोटकरी मनोरञ्जन र छोटकरी प्रतिक्रिया दिने अभ्यासले यो पुस्तालाई ‘स्पीडी’ बनाएको छ। तर, यही छिटो बुझ्ने र छिटो प्रतिक्रिया दिने क्षमताले कहिलेकाहीँ गहिरो सोच, धैर्यता र दीर्घकालीन दृष्टिकोण कमजोर बनाइदिन्छ।

जेन जी ले प्रविधिको प्रयोग गर्नमा त चपलता देखाएको छ, तर नयाँ अनुसन्धान, गहिरो अध्ययन र मौलिक आविष्कारमा योगदान गरेको खासै देखिँदैन। सायद यो पुस्ताले उपभोक्ताको भूमिकामा बढी सहजता पाएको छ। अरूले बनाएको प्रविधि, सिर्जना र सेवाको उपयोग गर्ने र त्यसमा छिटो अनुकूलन हुने यो पुस्ताको ठूलो क्षमता हो। तर मौलिक सिर्जना, अनुसन्धान र नयाँ सम्भावनाको विकासमा भने अपेक्षित योगदान नदेखिनु चिन्ताको विषय हो।

यो पुस्तामा एउटा ठूलो विरोधाभास छ। आफूहरू छिट्टै भावुक हुन्छन्, भावनामा तानिन्छन्, तर अरूको भावनाको सम्मान गर्न भने धेरै चासो देखाउँदैनन्। सामाजिक सञ्जालमा ट्रेन्ड हुने विषयमा भावनात्मक प्रतिक्रिया दिन्छन्, तर नजिकैको मानिसको पीडाप्रति धेरै संवेदनशील देखिँदैनन्। यसरी भावुक र निर्मम दुवै विशेषता एउटै पुस्तामा देखिनु सामाजिक अध्ययनका लागि रोचक पक्ष हो।

जेन जी पुस्ता उपभोगप्रति बढी आकर्षित छ। नयाँ वस्तु, नयाँ ग्याजेट, नयाँ फेसन वा नयाँ अनुभव उपभोग गर्नमा उनीहरूको विशेष रुचि हुन्छ। यो पुस्ता सिर्जनाभन्दा पनि उपभोगमा बढी सहज हुने भएकाले सजिलै अरूको साधन र शक्तिबाट प्रयोगमा आउने खतरा पनि रहन्छ। उपभोक्तावादी प्रवृत्तिले व्यक्तिगत स्वतन्त्रता बढाएजस्तो देखाए पनि दीर्घकालीन रूपमा समाजलाई निर्भरता र कमजोर बनाउने जोखिम हुन्छ।

यद्यपि यो पुस्ताको एउटा सकारात्मक पक्ष भनेको उनीहरू आन्दोलनमा आउन थालेका छन्। सामाजिक सञ्जाल बन्दविरुद्ध हालै देखिएको युवाको सडक उपस्थिति यसको उदाहरण हो। नयाँ पुस्ताले सामाजिक, राजनीतिक मुद्दामा प्रत्यक्ष चासो देखाउनु लोकतन्त्र र परिवर्तनका लागि आशाजनक संकेत हो। यो पुस्ताले आफ्नो अधिकारका लागि मात्र होइन, समाज र देशको हितका लागि पनि आवाज उठाउन थालेको देखिन्छ। तर यहाँ पनि प्रश्न उठ्छ— के यो पुस्ता आन्दोलनमा ‘भाग (भोग)’का लागि मात्रै आउँछ कि ‘भूमिका’का लागि पनि अगाडि बढ्छ? आन्दोलनलाई ट्रेन्ड, फोटो, भिडियो वा लोकप्रियताको साधन बनाउने कि वास्तविक परिवर्तनको साधन बनाउने भन्ने कुराले उनीहरूको सक्रियताको मूल्य निर्धारण गर्नेछ।

जेन जी पुस्ता सचेत र छिटो प्रतिक्रिया दिने भए पनि सामाजिक जिम्मेवारी वहन गर्न भने अझै ढिलो र कमजोर देखिन्छ। उदासीनता, अकर्मण्यता र व्यक्तिगत आरामतर्फको आकर्षणले उनीहरूलाई लामो समयसम्म जिम्मेवार भूमिकामा देखिन कठिन बनाएको छ। तर, सही नेतृत्व, अवसर र वातावरण पाएमा यही पुस्ता समाजलाई नयाँ दिशा दिन सक्ने सम्भावना पनि प्रबल छ।

आजका अभिभावक वा पाका पुस्ताको मनमा एउटा स्थायी प्रश्न छ— के यो पुस्ता देखिने वा नदेखिने शक्तिको प्रभावबाट मुक्त रहन सक्छ? सामाजिक सञ्जालका एल्गोरिदमदेखि लिएर राजनीतिक स्वार्थ, व्यापारिक प्रचार र अन्तर्राष्ट्रिय प्रभावसम्म, जेन जेड पुस्ता सजिलै प्रभावित हुने खतरा बोकेको छ। उनीहरूको सजगता र स्वतन्त्रता यिनै अदृश्य शक्तिबाट कसरी बचाइन्छ भन्ने कुरामा भविष्यको समाज निर्भर रहनेछ।

जेन जी पुस्ता अवसर र चुनौती दुवै हो। प्रविधिमैत्री, छरितो, सजग र भावुक यो पुस्ता समाजमा ठूलो ऊर्जा बोकेको छ। तर, उपभोक्तावाद, तत्काल gratification, भावनात्मक अस्थिरता र अदृश्य शक्तिको प्रभावमा पर्न सक्ने जोखिम पनि छ। नेपाल जस्तो देशमा जहाँ युवा जनसंख्या ठूलो छ, यो पुस्ताको सक्रियता निर्णायक हुने छ। उनीहरूले प्रविधिको उपभोग मात्र होइन, सिर्जना र अनुसन्धानमा पनि योगदान दिन थाले भने देशको सामाजिक र आर्थिक भविष्य उज्यालो हुन सक्छ। अन्ततः, जेन जेड पुस्तालाई मार्गदर्शन दिने, अवसर दिने र जिम्मेवारी दिलाउने दायित्व पाका पुस्ता, नेतृत्व र समाजकै काँधमा छ। यदि यो पुस्ता भूमिकासहित अगाडि बढ्न सक्यो भने, नेपालको भविष्य परिवर्तनको दिशातर्फ अघि बढ्नेछ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.