१३ भदौ, अटवा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका ठूला दलहरूलाई नियामक निकाय, अख्तियार तथा न्यायालयहरूमा दलगत भागबण्डा गर्दै राज्य कब्जा (‘स्टेट क्याप्चर’) गरेको आरोप लगाएका छन्।
क्यानडाको राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसिएसन अफ अटवा द्वारा आयोजित अन्तरक्रियामा बोल्दै वाग्लेले यस्ता अभ्यासले नेपाल उदार लोकतन्त्रबाट क्रमशः अनुदार लोकतन्त्र हुँदै ‘लुटतन्त्र’ (क्लेप्टोक्रेसी) मा रूपान्तरण भइरहेको बताए।
रविमाथि राज्यको प्रतिशोध
उनले रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध लिएको दाबी गरे। सहकारी काण्डमा गोर्खा मिडियामा ६५ करोड रुपैयाँ पुगेको देखिए पनि रविमाथि पाँच जिल्लाका अदालतहरूमा मुद्दा दायर गरिनु न्यायसंगत नभएको उनले बताए। “८,८०० करोड सहकारी अपचलन भएको छ, तर ६५ करोडको मुद्दामा रविमाथि प्रतिशोधपूर्वक मुद्दा चलाइएको छ,” उनले भने।
वाग्लेले रविलाई थुनामा राखिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै झन्डै ५० लाख नेपालीले उनलाई समर्थन गर्दै हस्ताक्षर गरिसकेको जानकारी दिए। प्रदेश सभा खारेज गर्नुपर्ने सुझाव संघीय संरचना सम्हाल्न राज्य असमर्थ रहेको भन्दै वाग्लेले “प्रदेश संरचना होइन, प्रदेश सभा नै हटाउनुपर्ने” धारणा राखे। उनले देशभर ८८४ सांसदमध्ये ५५० जना प्रदेश तहमा रहेकाले खर्च र प्रशासनिक बोझ अत्यधिक भएको बताए।
प्रदेश सरकारलाई छरितो बनाउन र विधायकीको जिम्मा गाउँपालिका–नगरपालिकालाई दिन सकिने उनको सुझाव थियो। चुनावी सुधारको आवश्यकता वाग्लेले महँगो चुनाव प्रणालीले भ्रष्टाचार बढाएको टिप्पणी गरे। उम्मेदवार बन्न पनि नेताहरूलाई पैसा दिनुपर्ने अवस्था आएको उल्लेख गर्दै, रास्वपाले रुपन्देही उपनिर्वाचनमा प्राइमरी प्रणाली लागू गरेर सुधारको सुरुआत गरेको जानकारी दिए।
सही नेतृत्व र डायस्पोराको भुमिका “नेपालको रूपान्तरणका लागि सही नीति, सफा नियत र सक्षम वर्गको नेतृत्व आवश्यक छ,” वाग्लेले बताए। उनले विदेशमा रहेका नेपाली (डायस्पोरा) लाई नेपालको विकासमा सक्रिय भुमिका खेल्न आह्वान गरे। विकासका सूचकमा केही प्रगति भए पनि नेपाल अझै पछाडि रहेको उल्लेख गर्दै उनले भने, “१९८० मा भारत, चीन र नेपालको प्रतिव्यक्ति आय झन्डै बराबर थियो, तर अहिले चीनको १३,००० डलर, भारतको २,७०० डलर छ भने हाम्रो मात्र १,५०० डलर छ।”
उचित नीति र स्थायित्व भएमा नेपालले आगामी १० वर्षमा श्रीलंकाको स्तर (प्रतिव्यक्ति आय ४,००० डलर) सम्म पुग्न सक्ने विश्वास व्यक्त गर्दै, उनले डायस्पोरालाई स्रोत, सीप र अनुभवमार्फत योगदान गर्न आग्रह गरे। एनआरएनहरूले देशको संवेदनशील बाहेकका पदमा बसेर काम गर्न पाउने वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिए। रास्वपालाई निर्णायक शक्ति बनाउने लक्ष्य अन्त्यमा वाग्लेले रास्वपालाई आगामी चुनावपछि देशकै सबैभन्दा ठूलो र निर्णायक राजनीतिक शक्ति बनाउने लक्ष्य रहेको स्पष्ट पारे।






