२४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको ३३औं महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी कार्कीलाई नेपाल प्रहरीको नयाँ नेतृत्व सुम्पिएको हो। उनी आईजीपीको प्रमुख दाबेदार मानिँदै आएका थिए।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गर्दै २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले नयाँ आईजीपीको नियुक्ति गरेको हो। कार्कीले २७ कात्तिकदेखि प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन्। उनी इमानदार र शान्त स्वभावका अधिकारीका रूपमा चिनिन्छन्।
कार्की १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरको रूपमा सेवामा प्रवेश गरेका थिए। नियमावलीअनुसार उनको सेवा अवधि १७ चैत २०८४ मा समाप्त हुनेछ, जसअनुसार उनले करिब साढे दुई वर्षसम्म संगठनको नेतृत्व गर्नेछन्।
कार्की २६ मंसिर २०६६ मा डीएसपीमा बढुवा भएका थिए। उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् र संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत दुई पटक पूर्वी टिमोर र एक पटक हाइटीमा सेवा गरेका छन्।
२४ भदौमा जेनजी आन्दोलनको क्रममा उपत्यकाको कमाण्ड सम्हालेका कार्की त्यसअघि प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागका प्रमुख थिए। डीआईजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरेका थिए, र एसएसपीको रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरमा कार्यरत रहँदा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको थियो।
आर्थिक विवाद वा अनियमिततामा नजोडिएका कार्कीलाई फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव छ। उनी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी पनि सम्हालीसकेका छन्।






