निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र

Shares

चितवन, ८ असार / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयमै सुरु हुन सकेको छैन। महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने कार्य जारी रहेकाले बन्दसत्र प्रभावित भएको हो।

आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सोमबार बिहान साढे ८ बजेदेखि सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिको अन्तिम नामावली टुंगो नलाग्दा कार्यक्रम ढिलिएको छ।

निर्वाचन समितिले आइतबार करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। तर नामावलीमा उल्लेख्य त्रुटि देखिएपछि प्रतिनिधिहरूले नाम सच्याउन निवेदन दिइरहेका छन्। त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्दसत्रस्थल वरपर प्रतिनिधिहरूको उल्लेख्य भीड देखिएको छ।

बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ।

यसैबीच रास्वपाको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरेको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार औपचारिक निर्वाचन प्रक्रिया आज दिउँसो १ बजेदेखि सुरु हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो १ बजे उम्मेदवारी मनोनयन फाराम वितरण सुरु हुनेछ। उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको छ।

राति ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। त्यसपछि दाबी–विरोध तथा जाँचबुझका लागि समय छुट्याइएको छ। उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारलाई राति ९ बजेदेखि १५ मिनेटको समय दिइनेछ भने अन्तिम नामावली राति ११ बजे प्रकाशित गरिने कार्यक्रम छ।

असार ९ गते बिहान ७ बजेदेखि डेढ घण्टा मौन अवधि रहनेछ। त्यसपछि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान हुनेछ। मतगणनाको नतिजा मतदान सम्पन्न भएको करिब दुई घण्टापछि सार्वजनिक गरिने जनाइएको छ।

पहिलो चरणको मतदानपछि अन्य पदाधिकारीका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ।

महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भए पनि सभापति पदमा रवि लामिछानालाई सर्वसम्मत रूपमा निरन्तरता दिने तयारी रहेको बताइएको छ। यद्यपि निर्वाचन प्रक्रिया भने कार्यतालिकाअनुसार अगाडि बढाइनेछ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.