१३ भदौ, काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन्। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले विद्युतीय प्रविधिमा भइरहेको प्रगति र जलविद्युतको उत्पादनलाई जोड्दै भने, “नेपालमा जलविद्युतको अपार सम्भावना छ। उत्पादन पनि भइरहेको छ, हामी छिमेकी मुलुकहरूमा निर्यात गर्न सक्छौं।”
मन्त्री भण्डारीले पछिल्लो समय विद्युतीय सामग्रीको प्रयोग समेत तीव्र गतिमा बढिरहेको उल्लेख गरे। उनले नेपाल आफ्ना उत्पादनहरूमा गुणस्तर कायम राख्दै आन्तरिक बजार विस्तार गर्न र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न तयार रहेको बताए। “विभिन्न कम्पनीहरूले आफ्ना उत्पादन प्रदर्शन गरेका छन्। गुणस्तरमा प्रतिस्पर्धा भइरहेको छ। यसबाट उत्पादन वृद्धि हुनु स्वाभाविक हो,” उनले भने, “बजारको माग र खपत दुवै छन्, त्यसैले भविष्य पनि सुनिश्चित देखिन्छ।”
उनले विदेशी कम्पनीहरूलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गर्दै भने, “सरकारले निजी क्षेत्रका प्रयासहरूलाई सहयोग गरिरहेको छ। यो क्षेत्रमा राम्रो सम्भावना र उज्वल भविष्य देखिन्छ।” मन्त्री भण्डारीले आजको बजार प्रतिस्पर्धामा नेपाली कम्पनीहरू पनि सक्रिय रहेको बताए। सरकारले नीतिगत सहुलियतसहित लगानीमैत्री वातावरण बनाउन पहल गरिरहेको उनको भनाइ थियो। शुक्रबारदेखि सुरु भएको यो अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी आइतबारसम्म सञ्चालन हुनेछ।






