बुटवल ,रूपन्देही
नेशनल प्याब्सन रूपन्देहीको आयोजनामा निबन्ध लेखन तथा जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको चौतर्फी विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो।
नेशनल प्याब्सन रूपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई बोल्दै प्रमुख अतिथि विष्णु प्रसाद पन्थीले विद्यार्थीहरूको बौद्धिक विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापहरू अपरिहार्य रहेको बताउदै “किताबी ज्ञानले मात्र विद्यार्थी पूर्ण नहुने हुँदा ,नेशनल प्याब्सनले आयोजना गर्ने यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउन र लुकेका प्रतिभा प्रस्फुटन गर्न ठूलो मद्दत पुर्याउने कुरामा जोड दिनुभयो।

त्यस्तै, कार्यक्रमका अध्यक्ष बाबुराम बन्जाडेले नेशनल प्याब्सन सधैं विद्यार्थीको वृत्तिविकास र गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बोल्दै हामीहरूले केवल शिक्षा मात्र दिँदैनौँ, विद्यार्थीलाई प्रतिस्पर्धात्मक विश्वमा खरो उत्रन सक्ने बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएका छौँ।”भन्दै कार्यक्रमहरूलाई निरन्तरता दिदै जाने बताउनुभयो।
हाजिरीजवाफ प्रतियोगिता प्रथम देवदह बोर्डिङ्ग स्कुल, द्वितीय नमुना एभर ग्रिन बोर्डिङ्ग स्कुल,तृतीय स्कलर्स होम र सान्त्वनाग्लोरी बोर्डिङ्ग स्कुल भएका छन्।त्यस्तै
निबन्ध लेखन प्रतियोगितामा प्रथम एचिभर्स मा.वि.,द्वितीय सिद्धार्थ ग्यालेक्सी,तृतीय सेन्जोसेफ इङ्लिस बोर्डिङ्ग स्कुल र सान्त्वनास्कलर्स होम भएका छन्। प्रतियोगितामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरूलाई शिल्ड,नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव विष्णु पौडेल, सल्लाहकार राजु गुरुङ, बिल प्रसाद गुरुङ, कमल पौडेल ,शंकर प्रसाद गौतम र पत्रकार हरिष ढकाल लगायतको उपस्थिति रहेको थियो।
हाजिरीजवाफ प्रतियोगिताको सहजीकरण डा.आविष्कार पराजुलीले गर्नुभएको थियो भने निबन्ध लेखनको निर्णायक प्राध्यापक कृष्ण प्रसाद पाण्डेले रहनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य शंकर प्रसाद गौतमले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन रूपन्देहीका सचिव अमित यादवले गर्नुभएको थियो।






