प्रसिद्ध चिनियाँ यात्री फा-सियानको ‘बौद्ध राज्यहरूको अभिलेख’ को नेपाली अनुवादमाथि समीक्षा

Shares

बुटवल — प्राचीन चीनका प्रसिद्ध बौद्ध भिक्षु तथा यात्री फा-सियानद्वारा लिखित ऐतिहासिक ग्रन्थ ‘बौद्ध राज्यहरूको अभिलेख’ को नेपाली अनुवादमाथि बुटवलमा गहन समीक्षा कार्यक्रम सम्पन्न भएको छ। शनिबार बुटवलको सुख्खानगरस्थित होटेल चिया चौतारीमा डा. सागर न्यौपाने र चुरामणि पोखरेलद्वारा संयुक्तरूपमा अनुवादित उक्त कृतिको परिचर्चा तथा समीक्षा गरिएको हो।

कार्यक्रममा बोल्दै समीक्षकहरू प्रगतिवादी सौन्दर्यशास्त्री ऋषिराम भुसाल, डा. मुरारि पराजुली र युवा विश्लेषक रामचन्द्र श्रेष्ठले पुस्तकको भाव, संरचना तथा भाषा शैलीबारे चर्चा गर्नुभएको थियो। फा-सियानको ऐतिहासिक यात्रा विवरणलाई पहिलोपटक नेपाली भाषामा अनुवाद गरेर बौद्ध साहित्य र नेपाली इतिहासमा अद्वितीय योगदान पुर्‍याएको भन्दै समीक्षकहरूले अनुवादकद्वयलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

समीक्षाका क्रममा वक्ताहरूले फा-सियानको यात्रा विवरण तत्कालीन दक्षिण एसियाको धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र व्यापारिक अवस्था बुझ्ने बहुमूल्य स्रोत भएको बताए। ईस्वी संवत् ३९९ मा ६२ वर्षको उमेरमा यात्रा सुरु गरेका फा-सियानले १३ वर्षसम्म चीन, तिब्बत, पाकिस्तान, अफगानिस्तान, भारत, नेपाल र श्रीलङ्काको भ्रमण गरी सन् ४१२ मा चीन फर्किएका थिए। विश्व इतिहासमै अद्वितीय मानिने यस यात्राका क्रममा उनले बाँसको कप्टेरा र रेशमी कपडामा आफ्ना अनुभव र विवरणहरू लिपिबद्ध गरेका थिए।

बौद्ध धर्मका मूल ग्रन्थ ‘विनयपिटक’ को खोज, बौद्ध तीर्थस्थलको दर्शन र अध्ययनका लागि गरिएको यस यात्रा विवरणले रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तिलौराकोट तथा नवलपरासीको रामग्रामलगायतका ऐतिहासिक बौद्ध स्थलहरूको पहिचान र प्रामाणिकतामा विश्वव्यापी योगदान पुर्‍याएको समीक्षकहरूको भनाइ थियो।

कार्यक्रममा समीक्षकहरूले अनुवादित कृतिको उच्च मूल्याङ्कन गर्दै बौद्ध साहित्यमा पुर्‍याएको योगदानको प्रशंसा गरे। साथै, आगामी दिनमा यस्तै खोजमूलक तथा संस्मरणजन्य कृतिहरू प्रकाशन गर्न अनुवादकद्वयलाई सुझावसमेत दिएका थिए।

डा. सागर न्यौपानेको अध्यक्षता तथा चुरामणि पोखरेल (लक्ष्मण पोखरेल) को सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा  विद्वान्, बुद्धिजीवी तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.