२३ भदौं काठमाडौं– सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध ‘जेन जी’ युवाहरूले थालेको आन्दोलन हिंसात्मक रूप लिएको छ। अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ।
प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ भने करिब एक सय भन्दा बढी घाइतेहरूको उपचार त्यहाँ जारी छ। वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० घाइतेहरूको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर रहेको छ।
प्रहरीको गोली लागेर घाइते भएपछि प्रदर्शनकारीहरूले बानेश्वर क्षेत्रमा अत्यधिक बल प्रयोग गरेका छन्। प्रहरीले अश्रुग्यास प्रहार गर्दै दमन सुरु गरेको छ। यस कारण बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी गरिएको छ। मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म बानेश्वर, सिंहदरबार र राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ।
तर कर्फ्यूको अवज्ञा गर्दै युवाहरूले प्रदर्शन जारी राखेका छन्, जसपछि प्रहरीले पुनः दमन सुरु गरेको छ।






