बुटवल, ४ माघ ।
प्रश्रित प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा विशेष साहित्यिक समारोह हुने भएको छ। यही माघ ५ गते शनिबार योगीकुटीस्थित मणिमुकुन्द कलेजको सभाहलमा कृति लोकार्पण, लघुकथा वाचन तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यको प्रमुख आतिथ्य रहनेछ। सो अवसरमा लेखक कपिल लामिछानेद्वारा लिखित र डा. शालिकराम पौड्यालद्वारा सम्पादित “लघुकथासाधना” कृतिको विमोचन तथा सघन परिचर्चा गरिने आयोजकले जनाएका छन्।
प्रतिष्ठानले नेपाली साहित्य र प्रकाशनको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै भुँडीपुराण प्रकाशन, काठमाडौँका प्रबन्धक केशवप्रसाद पराजुलीलाई विशेष सम्मान गर्ने कार्यक्रम तय गरेको छ।
बिहान ११ः४५ बजेबाट सुरु हुने उक्त समारोहमा स्रष्टा, लेखक र प्रकाशकबिच समसामयिक विषयमा अन्तर्क्रिया समेत हुनेछ। साथै, विभिन्न सर्जकहरूबाट लघुकथा वाचन गरी कार्यक्रमलाई थप रोचक बनाइने प्रतिष्ठानका महासचिव डा. शालिकराम पौड्यालले जानकारी दिनुभयो।






