साउन २६, बैतडी / बैतडीका पशुमा लम्पी स्किन र खरी रोग फेरि देखा पर्न थालेको छ । सबै पालिकामा यो रोगबाट पशु सङ्क्रमित हुन थालेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो ।
खरी रोगलाई धुलखुले, चौखुरी नामले पनि चिनिन्छ । यो रोग दूधालु बधुवा भैँसीमा जाडो तथा गर्मी समयमा र बेँंसी क्षेत्रमा भन्दा पहाडी डांँडाकाँडामा बढी देखिने गरेको प्रमुख पन्तले बताउनुभयो ।
यो रोग लागेपछि पशु दुब्लाउँदै जान्छ र उत्पादनमा ह्रास आउँछ । यस रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ सालदेखि अनुसन्धान गरिरहेको छ । तर अहिलेसम्म ठोस रूपको उपचार पद्धति भने विकास हुन नसकेको प्रमुख पन्तले बताउनुभयो ।
यस्तै जिल्लामा लम्पी स्किनको सङ्क्रमण पनि देखिन थालेको छ । लम्पी स्किन पुरानै पशुचौपायामा देखिन थालेको प्रमुख पन्तले जानकारी दिनुभयो ।
लम्पी स्किन लागेका चौपायालाई १०४ डिग्री भन्दामाथि ज्वरो आउने, शरीरमा साना–ठूला फोका निस्कने, खुट्टा, पातो र घाँटीको भाग सुन्निने, बिस्तारै घाँस खान छाड्नेजस्ता लक्षण देखापर्ने गरेका छन् ।






