१८ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय पनि भएको जानकारी दिए।
त्यस्तै, मन्त्रिपरिषद्ले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ र शिक्षा (दशौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ।
सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ। साथै, समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गतको सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न पनि सरकारले स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।




