माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल

Shares

साउन २६, काठमाडौं / नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भनेर आफू लागिरहेको तर पदबाट हटाउन खोज्यो भनेर बुझिएको गुनासो गरेका छन् । त्यस्ता बुझाइहरूलाई उनले ‘कच्चापन र बचपना’को संज्ञासमेत दिएका छन् ।

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ । यो मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग सम्बन्धित छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले भनेका छन्, ‘माधव कमरेडलाई १९ करोडको मुद्दा लागेको छ । तर कसरी माधव कमरेडलाई बचाउने होला, उहाँको मुद्दालाई अनुकुल कसरी बनाउने होला, उहाँको प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला ? यो कुरामा म जहिले पनि सोचिरहको छु । मैले सचिवालयमा राखेको प्रस्ताव पनि त्यसै दिशामा छ ।’ माधव नेपाललाई अनुकुलता थपियोस् भनेर र यो मुद्दाबाट मुक्ति मिलोस् भनेर आफूले अध्यक्ष पद छाड्न भनेको तर त्यसलाई गलत तरिकाले बुझिएको खनालले बताए ।

माधव नेपालले २०६६ माघ १८ मा मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलीलाई ८ सय १५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिना नबित्दै २०६६ चैत ६ मा उक्त जग्गा बेच्न स्वीकृति दिएको आरोप छ । यो निर्णय कानूनविपरीत भएको र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ मा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद निलम्वन छ । उक्त मुद्दा माधव नेपाललाई मात्रै नभइ पार्टीलाई नै लागेको भन्ने कतिपय नेताहरुले टिप्पणी गरिरहेको भन्दै खनालले त्यसो भन्नु गलत भएको बताए । असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावना विपरीतका कुराहरु नगर्न आग्रह गर्दै उनले यसले अध्यक्ष नेपाललाई झन् बढी समस्यामा पार्ने जिकिर गरे ।

‘कतिपय मान्छेहरु यो कहाँ माधव नेपाललाई मात्रै लागेको मुद्दा हो, यो त पार्टीलाई नै लागेको मुद्दा हो, यो त सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु, असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावना विपरीतका कुराहरु गर्न थालेका छन् । त्यसले माधव नेपाललाई झन् बढी खोकलामा हाल्ने काम गर्दछ,’ खनालले भनेका छन्, ‘यो कुरा माधव कमरेडले स्वयं बुझिदिए कति राम्रो हुन्थ्यो । उहाँले मुद्दा पहिलो पटक मात्रै देखेको, बुझेको होइन होला ।’ विगतमा केपी शर्मा ओली, राधाकृष्ण मैनाली लगायतमाथि पनि मुद्दा लागेको र त्यसविरुद्ध राजनीतिक र कानुनी रुपमा लडेको स्मरण गर्दै खनालले अब माधव नेपालमाथि पनि मुद्दा लागिसकेकाले कच्चा काम गर्न नहुने बताए ।

‘यसमा उहाँले (माधव नेपालले) धेरै कच्चा काम गर्नुहोला भनेर आशा गर्दिनँ । परिपक्व काम गर्नुस् भनेर नै मैले एउटा प्रस्ताव नै प्रस्तुत गरेको छु,’ खनालले भने, ‘त्यो प्रस्ताव असाध्यै सोचि विचारीकन यो पार्टी जस्तो रेभिलुसनरी पार्टीले कस्तो स्ट्याण्डर बसाउने भन्ने हो । मैले मार्क्सवादी प्रस्ताव र नयाँ नजिर बसाउने प्रस्ताव प्रस्तुत गरेको छु । त्यो प्रस्तावलाई यो त माधव कमरेडलाई उखेलेर फ्याँक्ने, सत्ताच्युत गर्ने, बदलाको भावना लिएर आउने भन्ने गरी कसैले हरेको छ भने यो असाध्यै कच्चापन हो । बचपनापन पनि हुनेछ ।’

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.