भाद्र १, बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्ग्यानिक उत्पादनलाई प्रवर्द्धन गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिका वडा नम्बर १ मानपकडीस्थित शर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको आइतबार अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो रासायनिक मलको अभावलाई प्राङ्गारिक मलले पूर्ति गर्ने भएकाले यसलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए ।
प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य पूरा गर्न प्राङ्गारिक मल उत्पादन हुनुपर्नेमा जोड दिँदै यही मलको प्रयोग गरेर खेती प्रणालीलाई अघि बढाउने गरी केही वर्षभित्र प्रदेशलाई प्राङ्गारिक प्रदेशको रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढेको समेत बताए ।
उनले प्राङ्गारिक मल उत्पादनका लागि सामुदायिक सङ्घसंस्था, निजी क्षेत्र र उद्यमीसँग साझेदारी गर्ने गरी सरकारले वातावरण बनाउने पनि बताए ।
स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन कृषि क्षेत्रको योगदान अतुलनीय रहेको चर्चा गर्दै उनले रोजगारी सिर्जनाको आधार पनि स्थानीय उत्पादन नै भएको बताए ।
मुख्यमन्त्री आचार्य सहित अनुगमनमा सहभागी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थीले किसानले भोगिरहेको रासायनिक मलको समस्या समाधान गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
उद्यमी सीपी शर्माले अर्ग्यानिक उत्पादनमा जोड दिँदै राज्यले सहयोग गर्नुपर्ने बताए । उनले दैनिक ४० टन र वार्षिक १५ हजार टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको बताए ।






