चितवन, ९ असार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने बताएका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्राविधिक कारणले सोमबार बन्दसत्र सुरु गर्न नसकिएको स्पष्ट पारे। उनका अनुसार अहिले महाधिवेशन प्रतिनिधिहरूको प्रवेश कार्ड वितरणको काम भइरहेको छ र उक्त प्रक्रिया पूरा भएपछि बन्दसत्र सञ्चालन गरिनेछ।
पराजुलीले अपेक्षा गरिएकोभन्दा धेरै प्रतिनिधि सहभागी भएकाले व्यवस्थापनमा केही समस्या आएको बताए। उनका अनुसार सुरुमा करिब २ हजार ८ सयदेखि ३ हजारसम्म प्रतिनिधि रहने अनुमान गरिएको भए पनि संख्या बढेर ४ हजार २ सयभन्दा बढी पुगेको छ।
“महाधिवेशन प्रतिनिधिको संख्या अनुमानभन्दा धेरै भएपछि केही प्राविधिक कठिनाइ उत्पन्न भए, जसका कारण हिजो बन्दसत्र सुरु गर्न सकिएन,” उनले भने।
उनले प्रवेश कार्ड वितरणलगायत आवश्यक तयारी पूरा गर्न अझै केही समय लाग्ने भएकाले बन्दसत्र सुरु हुन दिउँसो १ बजेसम्म पुग्ने जानकारी दिए। बाँकी सबै प्रक्रिया भने टुंग्याइसकिएको र कार्यक्रम अगाडि बढ्ने अवस्थामा रहेको उनको भनाइ छ।
पराजुलीले महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न प्रयास भइरहेको बताए।





